जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेले दिए बैंक जमानत माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन

जन्मभुमि खबर ,

पोखरा ।

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले बैंक जमानतमा रिहाइको माग गर्दै अदालतमा निवेदन दर्ता गरेका छन् ।

आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् ।

दफा ६८ मा अदालतले अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्नसक्ने प्रावधान छ । त्यस्तै, दफा ७१ मा मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगे पनि अभियुक्तलाई थुनामा वा जमानतमा राख्न सकिने व्यवस्था गरिएको छ ।

लामिछानेले साउन १९ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए। लामिछानेको सचिवालयले  अदालतमा निवेदन दिएको भएपनि यो विषय तीन दिनसम्म सार्वजनिक नगरी गुपचुप राखिएको थियो ।

रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले लामिछानेले थुनामुक्त हुन निवेदन दिएकोबारे चार दिनपछि बिहीबार (आज) मात्रै थाहा पाएको बताए ।

लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले रुपन्देहीबाट काठमाडौं कारागार सर्न खोजेपनि  गृह मन्त्रालयले रोकेको छ ।

रुपन्देही जिल्ला  अदालतले बुटवलको सुप्रिम सहकारी ठगी अभियोगको मुद्दामा लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, उच्च अदालतले आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

सहकारी प्रकरणमा लामिछाने यसअघि पनि ८४ दिन हिरासत बसेर  रिहा भएपछि २५ दिन बाहिर बसेका थिए ।