जन्मभुमि खबर ,
पोखरा ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रबाट पक्राउ परेका चौधरी बुधबार साँझ डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
रेशमलाई पक्राउ गरी थुनामा राख्नू भनी गएको पत्र नक्कली भएको भन्दै रिहा गरिदिन सर्वोच्चले अर्को पत्र पठाएपछि उनी रिहा भएका हुन् ।
रेशमलाई लिन श्रीमती रञ्जीता श्रेष्ठसहित नाउपा र जनमत पार्टीका नेताहरू कारागार पुगेका थिए । आज नाउपा र जनमतको एकता घोषणा हुनुअघि रेशमलाई प्रहरीले पक्रेको थियो । उनी पक्राउ परेपछि एकता घोषणा स्थगित भएको थियो ।
यसैगरी नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार समेत रहेका रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर ल्याइएको छ ।
विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सर्वोच्चका एक अधिकारीका अनुसार पत्र लेख्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।