जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रविविरुद्ध मैले जाहेरी दिएको होइन, प्रहरीले दुरुपयोग गरेको छ, नारायण पहराई

जन्मभुमि खबर ,
पोखरा ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका जाहेरीकर्तामध्येका एक नारायण पहराईले रवि लामिछानेविरुद्ध आफूले जाहेरी नै नदिएको बताएका छन् ।

जिल्ला अदालत रूपन्देहीमा चलिरहेको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाका कारण रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पुर्पक्षका लागि थुनामा गएपछि जाहेरीकर्ता पहराईको यो भनाइ सार्वजनिक भएको हो ।

पहराईले फेसबुकमा लेखेको यही टिप्पणीलाई अहिले रविका समर्थक एवं रास्वपाका नेता-कार्यकर्ताले सेयर गरिरहेका छन् ।

प्रहरीले अभियोगपत्र र अन्य कागजातहरूमा आफूलाई मुख्य जाहेरीकर्ताजस्तो प्रस्तुत गरेकामा पनि उनले आपत्ति प्रकट गरेका छन् ।

उनले आफ्नो उद्देश्य कसैलाई थुन्ने वा थुनाउने नभई उक्त सहकारीमा डुबेको बचन फिर्तासँग मात्र सरोकार रहेको पनि स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘मेरो उजुरी कोही व्यक्तिलक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो ।’

रविका नाममा पनि आफूले किटानी जाहेरी नदिएको उनको भनाइ छ ।

यस्तो छ पहराईको भनाइ:
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कयौं बचतकर्तामध्ये म पनि एक हुँ । सहकारीले बचत फिर्ता दिन नसकेपछि प्रहरीले उजुरी दिन भन्यो । र, इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएँ ।

मेरो उजुरी कोही व्यक्तिलक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो। एक बचन नसोधी, सहमतिसमेत नलिई प्रहरीले मलाई नै मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाएछ ।

‘नारायणबहादुर पहराई समेतको जाहेरीले वादी नेपाल सरकार’ भनेर रुपन्देही जिल्ला अदालतमा मुद्दा पनि चलाइयो। बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थिइन । तर, रवि लामिछानेविरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरियो, गरिएकै छ । यो प्रचारमा सत्यता छैन ।

करोड/करोड बचत हुनेलाई छोडेर थोरै बचत रहेको मलाई जानकारी पनि नदिई प्रहरीले किन मुख्य उजुरीकर्ता बनायो, अझै बुझ्न सकेको छैन । मजस्तै अन्यले पनि बचत फिर्ता पाउने आशमा उजुरी गरेका थियौं। तर, यत्रो समय बित्यो, खै त? संसदीय विशेष छानबिन समितिले बचत फिर्ताका लागि के–के सिफारिस गर्‍यो भनियो । तर, सरकारले ति सिफारिस कार्यान्वयनमा ध्यानै दिएको छैन। केही व्यक्ति पक्राउ गर्ने, थुन्ने र मुद्दा चलाउनेबाहेक यसबीचमा सरकारले पीडितलाई न्याय दिने के काम गर्‍यो? केही गरेको छैन । बरु, हामीजस्ता पीडितलाई देखाएर राजनीति पो गरियो कि!

म कोही व्यक्ति लक्षित थिइनँ, छैन । मेरो व्यक्ति लक्षित नगरिएको उजुरीलाई देखाएर र त्यसैको आधारमा मुद्दा दर्ता गराएर केहीले स्वार्थ पूरा गर्न खोजेका हुन् भने म अहिले पनि उजुरी/मुद्दा फिर्ता लिन राजी छु । हामीले बचत फिर्ता मागेका हौं, यसमा प्रतिवद्ध छौं । हामीले यसलाई समात, उसलाई थुन, त्यसलाई मुद्दा चलाउ भनेका छैनौं । विधि-प्रक्रिया, अड्डा-अदालत र सरकारले पीडितलाई न्याय दिन्छ कि भनेर लामाे समय चुप बसें। न्यायका नाममा पीडितलाई मात्र हाेइन अन्यलाई पनि निरन्तर अन्याय भएपछि बाेल्न बाध्य भएकाे हुँ । निर्दोष फसाएर दोषी उम्काउने र सहकारी पीडितको पैसा फिर्ता पाउनुपर्ने मुख्य सवाललाई विषयान्तर गर्ने दुष्कर्मविरुद्ध सबै पीडितले खबरदारी गराैं ।