जन्मभुमि खबर ,
पोखरा ।
वैशाख ११ देखि तय भएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिलेलाई वैशाख ११ को परीक्षा सार्ने निर्णय भएको हो ।
बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।
“शिक्षक महासंघसँग पनि अनुरोध गरेका थियौँ, कतिपय विद्यार्थी परीक्षा केन्द्रमा जान नसकेको कारण पनि सुन्यौँ, प्रधानमन्त्रीसँग सल्लाह गरेर केही दिन सार्ने तयारी गरेका हौँ,” उनले भनेका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा बोर्डका पदाधिकारीलाई बालुवाटारमा बोलाएर परीक्षाको मिति सार्न निर्देशन दिएका थिए ।
शर्माका अनुसार, परीक्षा तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक हुनेछ । “वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि गर्ने बोर्डको निर्णय भएको छ,” उनले भने, “परीक्षाको तालिका भोलि मात्रै सार्वजनिक गर्छौँ ।”