जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेलाई विमानमार्फत रुपन्देही लगियो, दुई दिन प्रहरी हिरासतमा राखिने

जन्मभुमि खबर ,

पोखरा ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालतले दिएको आदेशसँगै पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही लगिएको छ ।

लामिछानेलाई शनिबार बिहान विमानमार्फत भैरहवा लगिएको हो । अदालतको आदेशअनुसार लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न भैरहवा लगिएको हो । लामिछानेलाई रुपन्देहीमा दुई दिन प्रहरी हिरासतमै राखिनेछ ।

सार्वजनिक बिदाका कारण शनिबार र आइतबार अदालत नखुल्ने भएकाले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखिने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिए ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै लामिछाने शुक्रबार राति बूढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए । त्यसपछि लामिछानेलाई प्रहरीले जिल्ला प्रहरी परिसर, काठमाडौंको भद्रकालीस्थित हिरासतमा राखेको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेसँग १ करोड रुपैयाँ धरौटी मागेको थियो । आफूलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गर्दै लामिछाने जिल्ला अदालतको उक्त आदेशविरुद्ध उच्च अदालत पुगेका थिए ।

तर,  जिल्ला अदालतले दिएको धरौटीमा छाड्ने आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएसँगै लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो ।

लामिछाने सञ्चालक गोर्खा मिडिया नेटवर्क कम्पनीको खातामा सुप्रिम सहकारीबाट  गैरकानुनी रूपमा पैसा गएको, गोर्खा मिडियाको चेक काटेर सुप्रिम सहकारीलाई ४० लाख ९२ हजार ऋण तिरेको र गोर्खा मिडियाका कर्मचारीको बकपत्र हुन बाँकी रहेकाले लामिछानेलाई थुनामै राख्नुपर्ने आदेश उच्च अदालतले दिएको छ ।