जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज चैते दशैं पर्व मनाइँदै

जन्मभुमि खबर ,

पोखरा ।

आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैं । नवदुर्गा भवानीको उपासना गरी चैते दशैं पर्व आज मनाइँदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्य माथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दु धर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् ।

असोजमा मनाईंने दशैंलाई बडादशैको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं । आज घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वणिर्त छ । चैते दसैंको दिन देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । असोजको बडादसैंजस्तो यो बेलामा जमरा भने चैते दशैंमा प्रयोग हुँदैन ।

अष्टमीको दिनलाई चैते दशै र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको जेष्ठ छोराका रुपमा रामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ । आजका दिन अशोकको फूल खानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास समेत छ ।

वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।

अहिले पनि सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेँडाको प्रतीकको रूपमा देवीदूर्गालाई चढाउने गरिन्छ ।