जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा अनलाइन जुवाको कारोबार,पाँच जना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

नेपालमा प्रतिबन्धित क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) तथा अनलाइन जुवाको कारोबार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

कास्की प्रहरीले फागुन २३ गते पोखरा महानगरपालिका-१४ स्थित अनुपम टोलबाट पाँच जनालाई पक्राउ गरेको हो ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार पक्राउ पर्नेमा म्याग्दीका ३३ वर्षीय विक्रम बानियाँ, १९ वर्षीय रोजन केसी, २२ वर्षीय सज्जन घिमिरे, २८ वर्षीय सन्दीप कटुवाल र पर्वत जिल्ला घर भएका रूपेन्द्र जिसी छन्व।

उनीहरूलाई प्रदेश प्रहरी कार्यालय पोखरा र कास्की प्रहरीको टोलीले पक्राउ गरेको हो ।

जिसीको साढे तीन तलाको घरबाट क्रिप्टो करेन्सी तथा अनलाइन जुवा खेलाएको अवस्थामा पक्राउ गरिएको ओलियाले बताए ।

उनीहरूको साथबाट प्रहरीले ३१ थान मोबाइल, कम्प्युटर २ थान, ल्यापटप ४ थानलगायत बरामद गरिएको छ ।

पक्राउ परेकाले ह्वाट्सएप, टेलिग्राम, क्यास एपलगायतबाट अनलाइन जुवा खेलाएर १५ करोड र क्रिप्टो करेन्सीतर्फ १५ करोडको कारोबार गरेको पाइएको ओलियाले बताए। अनलाइन जुवामा भएको कारोबार उनीहरूले क्रिप्टो करेन्सीमार्फत् विदेश पुर्‍याउने गरेको ओलियाले बताए ।

‘दैनिक तीन सिफ्टमा कम्तीमा एक सिफ्टको ३ हजार अमेरिकी डलरको दरले अनलाइन जुवा खेलाएको पाइएको छ,’ ओलियाले भने, ‘उक्त अनलाइन जुवाको रकम क्रिप्टो करेन्सीद्वारा गरेको पाइएको छ ।’

पक्राउ परेकालाई जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ ।