जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा कोटिहोम रोक्न मागसहित वारेसमार्फत उच्च अदालत पुगेका मेयर धनराज आचार्यको निवेदनमा उच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
गत सोमबार मानव सेवा फाउन्डेसनले पोखराको लेकसाइडस्थित क्याम्पिङ चौर र नेपाल ट्रस्टमातहतको बाराहीघाटमा गर्न लागेको कोटिहोम रोक्न भन्दै मेयर आचार्यका तर्फबाट महानगरका कर्मचारी सोमनाथ लम्सालले अदालतमा निवेदन दर्ता गराएका थिए ।
मानवसेवा फाउन्डेसनका संस्थापक विजय भण्डारीविरुद्ध उत्प्रेषण परमादेश मागसहित कोटिहोम नरोक्न उच्च अदालत पोखराले गरेको आदेश बदरको माग गरेका थिए ।
यसअघि गत फागुन १ गते उच्च अदालत पोखराले कानुनी रूपमा बाधा पुग्ने कुनै कारणबाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न पोखरा महानगरपालिकालाई आदेश गरेको थियो ।
उक्त आदेश एकपक्षीय रहेको भन्दै महानगरले उक्त आदेश बदर मागसहित उच्च अदालतमा निवेदन दर्ता गरेको थियो ।
