जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

खानेपानी माग्दै हर्क साम्पाङ सिंहदरबारमा, रित्तो गाग्री प्रहरीले लग्यो

जन्मभुमि खबर,

पोखरा ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) धरानको खानेपानीको समस्या समाधानका लागि सिंहदरबार पुगेका छन् । मंगलबार बिहान रित्तो गाग्री लिएर सिंहदरबार परिसर प्रवेश गर्न खोजेपनि गाग्री भने प्रहरीले बरामद गरेको छ ।

गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले प्रहरीले गाग्रीबिनै गेटबाट प्रवेश गराएका हुन् । उनले सिंहदरबार प्रवेश गर्ने क्रममा गाग्री ल्याउन नदिएपनि आफूलाई रोक भने नल्याएको जानकारी गराए। उनले आफू लोकप्रिय हुनका लागि नभई जिम्मेवारी पूरा गर्न काठमाडौं आएको बताए । उनले भने, ‘म लोकप्रिय हुनका लागि होइन। लोकप्रियका लागि कलाकार हुन्छ, हिरो हिरोनीले गर्छ। म जिम्मेवारी पूरा गर्न आएको हुँ । म खानेपानीको समस्या समाधान गर्न आएको हु ।

धरानको खानेपानीको समस्या समाधानका लागि खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय जाने गरी सोमबार उनी काठमाडौं आएका हुन्।  उनले खानेपानी मन्त्रालयमा छलफल गरेपछि अर्थमन्त्रालय पुगेका छन् ।

सिंहदरबार प्रवेश अगाडि उनले सामाजिक सञ्जालमा लेखेका थिए,‘आज १० बजे आसपासमा सिंहदरबार छिर्ने विचार छ । खानेपानी मन्त्री, अर्थमन्त्री र प्रधान मन्त्रीको कार्यालयमा गाग्रीसहित जानेछु। केन्द्रले धरानलाई विभेद नगरी सप्तकोशीको पानी ल्याउने योजनाको ठेक्का यही वर्षमा लगाइदिन पर्‍यो भन्ने माग हो ।’