जन्मभुमि खबर ,
पोखरा ।
पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारबाट सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो ।
सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका छन् ।
यस्तै नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकास गौतमले पनि बहस गरेका छन् । उच्च सरकारी वकिल कार्यालयका वकिलहरुले भने जवाफी बहस गर्ने भएका छन् ।
बिहीबारदेखि जाहेरवालाको तर्फबाट बहस हुनेछ। उनीहरुको बहस सकिएपछि प्रतिवादीको तफैबाट बहस हुनेछ ।
दुवै पक्षको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ। यसपछि बल्ल प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने आदेश अदालतबाट आउनेछ ।
पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित गराइएको छ ।
अन्य प्रतिवादीहरु भने फरार छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा विभिन्न संस्थासमेत ४४ प्रतिवादी छन् ।
जसमध्ये ३१ प्रतिवादी सहकारी ठगीमा छन् । उनीहरूबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।
प्रतिवादीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, रविसहित ४ जनालाई सम्पत्ति शुद्धीकरण पनि र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ ।
सम्पत्ति जफतका लागि रविकी पत्नी निकितासहित ५ जनालाई प्रतिवादी बनाइएको छ ।