जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा अर्को सहकारी घोटाला काण्ड बाहिरिएको छ । पोखरा महानगरपालिका– २३ मा रहेको संघर्षशील सहकारीको ठगी आरोपमा २ जना पक्राउ परेका छन् ।
सहकारीको २ करोड ९६ लाख रुपैयाँ अपचलन गरेको आरोपमा अध्यक्ष जिल्ला धादिङ त्रिपुरासुन्दरी गाउपालिका वडा नं. ६ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ नयाँबजार बस्ने वर्ष ३३ का विक्रम पाण्डे र सोही र सहकारी संस्थाका सचिव तथा व्यवस्थापक जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३१ बेगनास स्थायी घर भई हाल पोखरा ३० शिसुवा बस्ने वर्ष ३४ का कमल सुवेदी रहेका छन ।
सहकारी रजिष्ट्रार कार्यालय गण्डकीले वित्तीय विश्लेषण गरेर प्रहरीलाई प्रतिवेदन बुझाएपछि उनीहरू पक्राउ परेका हुन् । वित्तीय विश्लेषण अनुसार अध्यक्ष पाण्डेले ५५ लाख हाराहारी र सुवेदीले बाँकी रकम हिनामिना गरेको आरोप छ ।
उनिहरुलाई पोखरा १७ बिरौटाबाट र पोखरा २३ कार्कीको तगरा स्थित सहकारीको कार्यालयबाट पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट सहकारी ठगी सम्बन्धी मुद्दामा दिन सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यसैबीच कास्की प्रहरीले यस सहकारीबाट पीडित भएकाहरुलाई पुस २० गते भित्र जाहेरी दिन आग्रह गरेको छ ।