जन्मभुमि खबर ,
पोखरा ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अध्यक्ष जितेन्द्रबहादुर(जीबी) राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा शुक्रबार पूरक अभियोग दर्ता गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले थप अभियोग र बिगो दाबी गर्दै पुरक अभियोग पत्र अदालतमा पेस गरेको हो ।
१९ जनामध्ये सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेलसमेत छन् ।
यसअघि १९ जनाविरुद्ध २०८० असोजमा सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएकोमा यसपल्ट संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत मुद्दा चलाइएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।
१९ जनामध्ये ६ जना पुर्पक्षका लागि कास्की कारागार, ३ जना अन्य जिल्लाका कारागारमा रहेका छन् । १० जना भने फरार छन् । रास्वपा सभापति रवि लामिछानेसहित कास्की प्रहरीको हिरासतमा रहेका ५ जनाविरुद्ध भने आइतबार मात्र अभियोपत्र अदालतमा बुझाइने जिल्ला न्यायाधिवक्ता काफ्लेले बताइन् ।
“सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध मुद्दा लगेका छौँ,” शर्माले भनिन्, “संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धान भई प्रहरीले प्रतिवेदन बुझाएकाहरूविरुद्ध म्यादभित्रै मुद्दा लैजाने छौँ ।”
सहकारीको सम्पत्ति गोर्खा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीविरुद्ध अनुसन्धान गरेर प्रहरीले जिल्ला सरकारी वकिलमा प्रतिवेदन बुझाइसकेको छ । जोशीलाई असोज ६ गते प्रहरीले पक्राउ गरेका आधारमा तोकिएको हदम्यादको ८९ दिन भइसकेको छ ।
अन्तिम दिन बिदाको दिन पर्दा त्यसपछि कार्यालय खुल्ने दिनलाई अन्तिम मिति मानिने हुँदा आइतबार ९० दिनको हदम्याद सकिने भएकाले सपत्ति शुद्धीकरण र संगठित अपराधमा पनि आइतबार नै मुद्दा दायर गर्नुपर्छ ।