जन्मभुमि खबर ,
पोखरा ।
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मङ्गलवार रुपन्देहीमा बयानका लागि लगिने भएको छ ।
२४ दिनदेखि सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही प्रहरीले उनलाई ल्याउने तयारी गरेको हो। यसका लागि रुपन्देही अदालतबाट प्रहरीले अनुमति लिइसकेको छ ।
कात्तिक २ गतेदेखि सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रुपन्देही पठाउन प्रहरीले कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ।
रुपन्देही प्रहरी श्रोतका अनुसार कास्की प्रहरीसँगको समन्वयमा सोमबार विमानबाट भैरहवा ल्याइने तयारी गरे पनि विमानको समय नमिलेपछि मङ्गलवार ल्याइने भएको हो । रास्वपा स्रोतले पनि प्रहरीले रुपन्देही ल्याउने तयारी गरिएको सूचना पाए पनि औपचारिक जानकारी केही नआएको जनाएको छ ।
रुपन्देही प्रहरी प्रमुख रन्जित सिंह राठौरले लामिछानेलाई सोमबार साँझ रुपन्देही ल्याउने तयारी गरिए पनि साँझ पोखराबाट आउने विमान नभएकाले मङ्गलवार ल्याइने जनाएका छन् ।
प्रहरीले लामिछानेलाई रुपन्देही ल्याउँदा सहकारी पीडित र रास्वपा कार्यकर्ताको सम्भावित प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा समेत जिल्ला सुरक्षा संयन्त्रका बीचमा अनौपचारिक छलफल गरिएको छ ।