जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा घुम्न आएका चिनियाँसँग १४ वर्षीय किशोरीलाई बिहे गराइदिएपछि…

जन्मभुमि खबर ,
पोखरा ।

साउन १३ गतेको घटना हो । ९० दिनको भिजिट भिसामा नेपाल घुम्न आएका एक चिनियाँ नागरिकसँग पोखरामा नेपाली १४ वर्षीय किशोरीको विवाह भएको छ ।

केटाको उमेर ३१ वर्ष । केटीको १४ वर्ष । चिनियाँ नागरिकसँग अनुचित लाभ लिएर ती किशोरीको विवाह गराइदिएको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लमजुङ घर भई पोखरा १६ बस्ने २२ वर्षकी सरु विक र पोखरा २२ आर्बाकी ३४ वर्षीय भगवती अधिकारी छन् । किशोरीसँग विवाह गरेका चिनियाँ नागरिक जि मिङ चेन पनि पक्राउ परेका छन् । उनी पोखराको पारामाउन्ट गेस्ट हाउसमा बस्दै आएका थिए ।

‘किशोरीलाई चाइनिज नागरिकसँग विवाह गरे भविष्य बन्छ भनेर फकाएका रहेछन् । अनुसन्धान गर्दै जाँदा चिनियाँसँग उनीहरुले अनुचित लाभ लिएको पाइएको छ,’ प्रहरीले भनेको छ, ‘विवाह गरेर किशोरीलाई होटेलमा बन्धक बनाएर राखेको देखियो ।’

किशोरी होटेलबाट झुक्काएर भागेपछि प्रहरीमा सूचना परेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार किशोरीको उद्धारपछि उनकी आमाले प्रहरीमा उजुरी दिएकी हुन् ।

तीनैजना विरुद्ध कास्की अदालतबाट ५ दिनको म्याद थपेर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान थालिएको उनले सुनाए ।