जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरादेखि तनहुँको दमौलीलगायत छोटो दूरीका गन्तव्यमा गाडीमा कोचिएरै यात्रा, ट्राफिक छल्छन् चालक

जन्मभुमि खबर ,
पोखरा ।

पोखरादेखि तनहुँको दमौलीलगायत छोटो दूरीका गन्तव्यमा दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । प्रदेश राजधानीमा बढ्दो जनघनत्वको तुलनामा सार्वजनिक यातायातको गुणस्तर भने सुधार हुन सकेको छैन । सर्वसाधारण यात्रु थोत्रा गाडीमा कोचिएरै यात्रा गर्न बाध्य छन् । पर्यटकीय राजधानीसमेत रहेको पोखरामा २० वर्ष नाघेका सवारी साधन निर्वाध चलिरहेका भेटिन्छन् ।

यान्त्रिक अवस्था ठीक नभएका (थोत्रा) सवारी साधन सडकमा गुड्दा प्रदूषण, दुर्घटनाको जोखिम बढ्नाका साथै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । बिहान र बेलुका कार्यालय छुट्ने समयमा पोखराको सार्वजनिक यातायात अस्तव्यस्त देखिन्छ । घुमफिर, किनेमेल आदिका लागि पोखरा आएका सर्वसाधारण पनि साँझ गाडीमा कोचाकोच गरेर घर फर्कनुपर्ने अवस्था छ । बागलुङ बसपार्कदेखि दमौलीका लागि छुट्ने बस पृथ्वीचोकसम्म पुग्दा यात्रु खचाखच भइसकेका हुन्छन् ।

बसका चालकले भने यात्रु चढाउन छोड्दैनन् । बसमा सिट नभए पनि ठाउँठाउँमा रोक्दै यात्रु डाकिरहेका हुन्छन् । ट्राफिक प्रहरी भेटिँदा बसको ढोका बन्द गर्छन् । उभिएका यात्रुलाई भुइँतिर निहुरिएर बस्न अ¥याउँछन् । अर्को विकल्प नभए पनि यात्रु पनि घर जाने हतारले गाडीमा उभिन तयार हुन्छन् । यात्रु चढ्न र झर्न पनि मुस्किल हुनेगरी बसले यात्रु ओसारिरहन्छन् । कोचाकोच हुनेगरी यात्रु नचढाउन गरेको आग्रहलाई चालक र सहचालकले टेर्दैनन् । उल्टै नमीठो जवाफ फर्काउँछन् ।

दिउँसोको समयमा कम यात्रु लिएर हिँड्नु परेकाले साँझ–बिहान सिट सङ्ख्याभन्दा बढी यात्रु चढाउनुपर्ने बाध्यता रहेको उनीहरु सुनाउँछन् । ट्राफिक प्रहरीले बेवास्ता गर्ने भएकाले चालकलाई नियम मिच्न पनि सजिलो छ । दमौलीका लागि छुट्ने बसले अधिकांश स्थानीय यात्रुलाई सेवा दिँदै आएको पोखरा–दमौली चल्ने बसका सहचालक दीपक परियारले बताए ।

दमौली जाने बसमा पोखराकै चलाउँथे, विजयपुर, अर्घौं, तालचोक, भण्डारढिक, गगनगौँडालगायत ठाउँमा पुग्ने यात्रुलाई सेवा दिँदै आएको उनको भनाइ छ । पोखरा–मुग्लिन राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलाइले पनि सो क्षेत्रको आवातजावात कठिनाइपूर्ण रहेको उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ हबल्दार आशिष क्षेत्रीले कुनै पनि सवारी साधनले सिट सङ्ख्याभन्दा बढी यात्रु बोक्न नपाइने बताए । पोखरा–दमौली, पोखरा–बेगनासलगायतका रुटमा चल्ने सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको गुनासो आइरहेकाले ट्राफिक अनुगमनलाई कडाइ गरिने उनको भनाइ छ ।

“लामो दूरीका गाडीमा त यो समस्या छैन”, उनले भने, “पोखरा महानगर र बाहिरका नजिकका गन्तव्यसम्मको सार्वजनिक यातायातमा देखिएको समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ ।” स्थानीय रुटमा चल्ने सवारी साधनले विशेष समय र परिस्थितिमा एक÷दुई यात्रुलाई उभ्याएर यात्रा गराउँदा ट्राफिक प्रहरीले व्यवहारिता हेर्ने गरेको वरिष्ठ हबल्दार क्षेत्रीले बताए ।

“खचाखच यात्रु उभिएरै यात्रा गरेको अवस्थामा ट्राफिक प्रहरीले कारबाही गर्छ”, उनले भने, “ट्राफिक व्यवस्थापन र अनुगमनलाई अझ चुस्त पार्छौँ ।” उनले ट्राफिक प्रहरीको आँखा छलेर ट्राफिक नियम उल्लङ्घन नगर्न यातायात व्यवसायी र सवारी चालकहरुलाई आग्रह गरे । तोकिएको सिट सङ्ख्याभन्दा बढी यात्रु बोक्दा गाडी दुर्घटनाको जोखिम बढी हुने उनको भनाइ छ । पोखरा–मुग्लिन सडक निर्माणको चरणमा रहेकाले उक्त सडकमा बढी यात्रु बोकेर सवारी साधन गुडाउँदा यात्रा कष्टकर हुने र दुर्घटनाको खतरा रहने ट्राफिक प्रहरीको भनाइ छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले यान्त्रिक धेरै पुराना र प्रदूषणयुक्त सवारी साधन सञ्चालनमा कडाइ गरिएको बताए । यान्त्रिक हिसाबले सही अवस्थामा नरहेका धेरै पुराना सवारी साधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढी हुने उनले उल्लेख गरे । “पुराना सवारी साधनबाट वायु र ध्वनी प्रदूषण पनि बढी हुन्छ, सवारी व्यवस्थापनमा पनि असहजता ल्याउँछ”, प्रहरी निरीक्षक शर्माले भने ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा दर्ता भई २० वर्ष नाघेका झण्डै चार सय सवारी साधन छन् । प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ ले समेत २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाए पनि कतिपय सवारी धनीले अटेर गरी त्यस्ता सवारी साधन सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ ।

बीस वर्ष पुराना सवारी साधन सञ्चालन गरेमा प्रदेशको सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ मा भएको व्यवस्थाअनुसार कारबाही हुने व्यवस्था छ । मन्त्रालयले २० वर्ष नाघेका सवारी साधनको लगतकट्टा गरी दर्ता खारेजीको प्रक्रियामा आउन सवारी धनीलाई अनुरोध गर्दै आएको छ ।