जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गायक प्रकाश तिमिल्सिना आफ्नै कोठामा मृत भेटिए

जन्मभुमि खबर ,
पोखरा ।
गायक प्रकाश तिमिल्सिना आफ्नै कोठमा मृत भेटिएका छन् ।

ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नरेशराज सुवेदीका अनुसार गायक तिमिल्सिना ललितपुर महानगरपालिका–१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

‘हामीलाई आज बिहान ५ बजेतिर खबर आएको थियो’, उनले भने, ‘उहाँ आफ्नै बेडमा मृत अवस्थामा फेला पर्नुभयो ।’

उनको मृत्यु के कारणले भन्ने अहिले खुलिनसकेको एसपी सुवेदीले बताए ।

‘मुखमा रगत र फिँज देखिएको छ’, एसपी सुवेदीले भने, ‘अहिले मृत्युको कारणबारे केही पनि अनुमान गर्न सकिने अवस्था छैन ।’

उनका अनुसार पोस्टमार्टमका लागि तिमिल्सिनाको शव पाटन अस्पताल लगिएको छ। ‘अब त्यसको रिपोर्ट आएपछि केही खुल्ला’, एसपी सुवेदीले भने ।

एसपी सुवेदीका अनुसार गायक तिमिल्सिना राति कोठामा एक्लै थिए । ‘उहाँको मेडम काम विशेषले विराटनगर जानुभएको रहेछ, उहाँसँग कुरा भएअनुसार उहाँलाई पर्खिनुपर्ने अवस्था छ’, उनले भने ।

दृष्टिविहीन गायक तिमिल्सिना २०६५ सालमा ईमेज च्यानलले आयोजना गरेको एउटा रियालिटी शोमा विजयी भएपछि सांगीतिक क्षेत्रमा उदाएका थिए ।

गायक तिमिल्सिनाले खलि, प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ, तिम्रो हातको सिन्दुर, जुन भन्दिनँ, तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिँडे म आदि गीत गाएका छन् । यसबाहेक उनले धेरैवटा लोकप्रिय गीतका कभर भर्सन पनि गाएका छन् ।