जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा पत्रकार कुट्ने ५ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा यातायात व्यवसायीको आन्दोलनको समाचार संकलन गर्नेक्रममा पत्रकारमाथि हातपात गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पोखरा ९, शान्तिवन बस्ने ट्याक्सी चालक वर्ष ४१ को सूर्यबहादुर नेपाली, गोरखा घर भई हाल पोखरा ९, पृथ्वीचोक बस्ने मजदुर वर्ष ३३ को बुद्धिबहादुर बयलकोटी, पोखरा १६, लामाचौर बस्ने बसका सहचालक वर्ष १६ को प्रशान गुरुङ, लमजुङ सुन्दरबजार १, कुन्छा घर भई हाल पोखरा ५, जिरो बस्ने ट्याक्सीचालक वर्ष २८ को सन्तोष बस्नेत र स्याङ्जाको आँधिखोला २, पोखराचौर घर भई हाल पोखरा १७, घारीपाटन बस्ने वर्ष ३५ को टंकबहादुर क्षत्री हुन् ।

उनीहरुले पोखराको पृथ्वीचोकमा पत्रकार विनु थापा र सुरज थापामाथि हातपात गरेका थिए । सो घटनाको पत्रकार सम्बद्ध विभिन्न संघसंगठनले विरोध जनाएका छन् ।

प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । आज आइतबार सार्वजनिक यातायात सेवा नै अवरुद्ध गरेका थिए ।

आज दिउँसो भएको वार्तामा व्यवसायीहरूको मागबारे अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने सहमति भएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको नेतृत्वमा बसेको समितिमा यातायात व्यवसायी र राइडर्स प्रतिनिधि समेत छन् । समितिले १५ दिनभित्र मुख्यमन्त्रीलाई सुझाव दिनेछ ।