जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुर्यदर्शन सहकारी पीडितले भेटे प्रधानमन्त्रीलाई , सरकारले छिट्टै नीतिगत निर्णय गरेर अघि बढ्ने तयारी गरेको भनाइ

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले सहकारी ठगीमा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका छन्।

पत्रकार महासंघ कास्कीले आयोजना गरेको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण समारोहमा जाँदै गरेका प्रधानमन्त्री प्रचण्डलाई भेटेर सहकारी पीडितले ज्ञापन पत्र बुझाएको सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए।

कार्यक्रममा सहभागी हुन पोखरा उद्योग बाणिज्य संघको सभाहल जाने क्रममा बाटोमा प्रधानमन्त्रीलाई भेटेर उनीहरूले ज्ञापन पत्र बुझाएका थिए।

सहकारी पीडितका समस्या समाधान गर्न सरकारले चासो नदिएको उनीहरूको गुनासो छ।

‘सहकारीबाट हामी पीडित भएको पनि २ वर्ष भइसक्यो, अहिलेसम्म सरकारले कुनै कदम चाल्न सकेन,’ उनले प्रधानमन्त्रीलाई भने, ‘हाम्रो सहकारीको समस्या भनेको जिबी राई र गृहमन्त्री रवि लामिछानेज्यू जोडिनुभएको छ, गम्भीर छानबिन होस्।’

उनले सहकारीमा बचत राखेका सर्वसाधारणले आफ्नो रकम फिर्ता नपाउँदा कतिले ज्यान गुमाएको र कति औषधि उपचारसमेत नपाएको बताएका थिए।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सहकारी पीडितका समस्याबारे आफू जानकार भएको बताए। उनले सहकारी पीडितको समस्या समाधान गर्न सरकारले छिट्टै नीतिगत निर्णय गरेर अघि बढ्ने तयारी गरेको बताए।

‘सहकारीको समस्या राष्ट्रिय विषय बनिसक्यो, समस्या समाधान गर्न हामी छिट्टै नीतिगत व्यवस्था गर्दैछौं,’ प्रधानमन्त्री दाहालले भने, ‘जिबी राई जहाँ भए पनि छिट्टै पक्राउ पर्छ, तपाईंहरु ढुक्क हुनुस्।’

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) सहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। उक्त सकारीबाट १ अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको पोखरा महानगरको छानविन प्रतिवेदनमा उल्लेख छ।

रकम अपचलनका मुख्य आरोपी राई फरार छन्।

ग्यालेक्सी टेलिभिजनका अध्यक्षसमेत रहेका राइले सहकारीबाट गैरकानुनी रुपमा टेलिभिजनमा लगानी गरेका थिए। सहकारी संचालक एवं ग्यालेक्सी टेलिभिजनका व्यवस्थापक कुमार रम्तेलले पोखराको सुर्यदर्शन सहकारीबाट मात्र टेलिभिजनमा ११ करोड लगानी लगेको बयानमा बताएका छन्।

टेलिभिजनका तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने हाल उपप्रधान तथा गृहमन्त्री छन्। गैरकानुनी रुपमा सहकारीबाट टेलिभिजनमा करोडौं रकम लगेको भन्दै पीडितले लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरीसमेत दिएका थिए।