जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दाइजोमा सिक्री नपाएपछि मण्डपबाट उठे बेहुला , तीन जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

वीरगन्जमा दाइजोमा सुनको सिक्री नपाउँदा बेहुलाले विवाह अस्वीकार गरेका छन् । मण्डपबाटै बेहुला उठेपछि विवाद भएको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि सोमबार राति करिब साढे १ बजेको समयमा वीरगन्ज महानगरपालिका–२४ रामगढवास्थित बेहुलीको घरमा पुगेर प्रहरीले बेहुला, उनका दाइ र भिनाजुलाई नियन्त्रणमा लिएको थियो । बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् ।

बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता सिनेमा चोक निवासी उमेश साह गोढको छोरा बच्चालाल साह गोढले सोमबार करिब १० बजेतिर समयमा जन्ती लिएर वीरगन्जको रामगढवा पुगेका थिए । स्थानीयका अनुसार मधेशी रीतिरिवाजबमोजिम बेहुलाको परछावन र बरमाला हुँदासम्म कुनै विवाद भएको थिएन । जन्तीले सहज तरिकाले नास्ता र खानासमेत खाएका थिए ।

‘तर, जब बेहुला र बेहुली मण्डपमा बसे तब बेहुलाले अनेक बहाना गर्न थाले,’ स्थानीय दीपक कुमार भन्छन्, ‘कहिले मेरो दाइको इज्जत भएन त कहिले मेरो भिनाजुको इज्जत नभएको भन्दै बेहुला मण्डपबाट उठ्न बहाना खोज्दै थिए ।’ केही समयपछि उनले सुनको सिक्रीको माग राखे । ‘सुनको सिक्री नपाउन्जेल विवाह अगाडि नबढाउने अड्डी कसे,’ अर्का स्थानीय रामकिशोर कुर्मीले भने, ‘केही समयपछि नै सिक्री नपाएकाले विवाह नगर्ने भन्दै मण्डपबाट बेहुला उठे ।’

बेहुला मण्डपबाट उठेपछि बेहुलीका आफन्तले रोक्ने प्रयास गर्दा विवाद भएको थियो । मण्डपमा अचानक सुनको सिक्री मागेकाा बेहुलाले दाइजोमा यसअघि नै १२ लाख नगद, मोटरसाइकल खरिदका लागि ३ लाख २५ हजार रुपैयाँ, ७५ हजारको ल्यापटप र एउटा सुनको औंठी लिइसकेको बेहुलीको परिवारले जनाएका छन् ।

बेहुलीका बुवा सुखल साहले छोरीले राम्रो घरपरिवार पाइन् भनेर ऋण खोजेर भए पनि दाइजोको व्यवस्था गरेको बताउँछन् । ‘जन्तीको स्वागतमा समेत कुनै कमी कमजोरी हुन दिएका थिएनौँ,’ उनले भने, ‘अचानक सिक्रीको डिमान्ड भएपछि अहिले पैसाको व्यवस्था हुन सकेन, बिहेपछि दिन्छौँ भनेका थियौँ । तर, पनि उहाँहरू मान्नु भएन ।’

विवाद भएपछि बेहुलालगायत ३/४ जनालाई राति प्रहरीले नियन्त्रणमा लिएको उनले खुलाए । पर्सा प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाका अनुसार वडा प्रहरी कार्यालय श्रीपुरबाट दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको बताए । ‘घटनाबारे सत्यतथ्य बुझ्दै छौँ,’ थापाले भने, ‘जाहेरी आएको खण्डमा कानुनबमोजिम कारबाही गरिन्छ ।’