जन्मभुमि खबर ,
पोखरा ।
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको १९ औं संस्करणको लेखनाथ महोत्सव बिहीबारबाट सुरु हुँदै छ । महोत्सवको ९५ प्रतिशत तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि लेखनाथ महोत्सव गर्दै आएको बताए । विभिन्न जातजाति, भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनको भनाइ थियो । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुहरूको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीको उत्पादनको प्रदर्शनी एवं बिक्री गरिने बताए ।
महोत्सवका प्रचारप्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु’ ले देशको अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढावा दिन, हस्तकलाका सामानको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरूमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको प्रवद्र्धन, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्न, आन्तरिक एवं बाह्य पर्यटकहरू आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको स्पष्ट पारे ।
महोत्सवको ९५ प्रतिशत तयारी पूरा, घरमै बसेर टिकट काट्न पाइने
नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले लेखनाथ महोत्सवलाई सुरुवातका दिनदेखि नै आफूले नियाल्ने अवसर पाएको भन्दै पत्रकार महासंघ कास्की सधैं साथमा रहेको बताए ।
महोत्सवको थप आकर्षणको रुपमा महोत्सवस्थलमा थ्रिडी आर्टमार्फत् कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलइडि डिस्प्लेमार्फत् स्टेजबाट प्रायोजकहरूको प्रवद्र्धन, दर्शकहरूका लागि इ–सेवाबाट टिकट काट्न सकिने गरी व्यवस्था मिलाइनुका साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरूबाट स्टेज सो हुनेछन् । बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी लगायत कार्यक्रम छन् । मातृशक्तिको सम्मानमा आयोजना गरिँदै आएको महिला विशेष कार्यक्रमअन्तर्गत रत्यौली प्रतियोगिता, ख्याति प्राप्त कलाकारबाट दैनिक प्रस्तुति, सुगम संगीतअन्तर्गत कन्सर्टलगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रम रहनेछन् ।
महोत्सवको साहित्यिक कार्यक्रमअन्तर्गत पुस २ गते कवि शिरोमणि लेखनाथ पौड्यालको सम्झनामा विचार गोष्ठी, कवितावाचन तथा प्रवचन कार्यक्रम भएका छन् । विद्यालय स्तरीय कार्यक्रमअन्तर्गत पुस १ गते चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
महोत्सवका सहसंयोजक एवं प्रायोजक व्यवस्थापन तथा उपसमिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमा लिँदै आएको र उत्पादक र उपभोक्ताहरूलाई एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले स्वागत र महासचिव जानुका पराजुली सञ्चालन गरेकी थिइन ।