जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पत्रकार ढकालको मृत्युबारे अनुसन्धान जारी, बस चालकसहित चारजना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पत्रकार प्रकाश ढकालको शंकास्पद मृत्युको अनुसन्धानका क्रममा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । उनी चढेर आएको गाडीका साहू, चालक र दुई सहचालक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सन्तोष परियार, निलबहादुर दर्जी, समीर विक र रविराज सुवेदी छन् ।

पत्रकार ढकालको शव गत मंसिर ४ गते धादिङको कृष्णभीरमा भेटिएको थियो । उनी तिहारको बिदा मनाउन स्याङ्जाको चापाकोटस्थित घर गएर फर्किने क्रममा सम्पर्कविहीन बनेका थिए । चार दिनपछि कृष्णभीरको मुनि खोल्सोमा शव भेटिएपछि धादिङ प्रहरीले अनुसन्धान थालेको थियो ।

स्याङ्जाबाट काठमाडौं आउने क्रममा बसमा विवादमा भएपछि कुटपिट गर्दै बसबाट ढकाललाई झारेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुले विवाद भएपछि रातिको समयमा बसबाट ढकाललाई झारेका थिए।

ढकाल घरबाट फर्किने क्रममा खैरेनीटारमा बस चढेका थिए । उनीसँग एउटा झोला थियो । ढकाल चढेको बसले उनलाई बीच बाटोमै जबरजस्ति ओरालिदिएको पाइएको छ । घटनास्थलभन्दा डेढ किलोमिटर अगाडिबाट पैदल हिँडिरहेको सीसीटीभी फुटेजसमेत भेटिएको छ । गाडीबाट बाटैमा झारिएपछि ढकालले प्रहरीलाई फोन सम्पर्क गरेका थिए । उनले आफूलाई जबर्जस्ती बाटोमा झारिएको र आफ्नो झोला गाडीमै छुटेको प्रहरीलाई अवगत गराएका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा ढकाल चढेको गाडी र उनको झोला फेला पारेको छ । सोही गाडीका चारलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । त्यस दिन गाडीका साहू पनि गाडीमै रहेकाले उनी पनि पक्राउ परेका छन् । चारैजनालाई म्याद थप गरेर थुनामा राखिएको छ । परिवारजनले उनीहरूमाथि हत्याको आरोप लगाएका छन् । यद्यपि, ढकालको हत्या गरिएको नभएर जोखिमपूर्ण स्थानमा दुर्घटनावस तल खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

धादिङका एसपी गौतम मिश्रले अनुसन्धान निष्कर्षमा पुगिनसकेको बताए । गाडीभित्र विवाद भएपछि ढकाललाई अमानवीयरूपले असुरक्षित ठाउँमा उतारिएको हुँदा चारजनालाई पक्राउ गरिएको उनको भनाइ छ । ढकालका आफन्तले उनीहरूविरुद्ध किटानी जाहेरीसमेत दिएका थिए ।

विगत सात वर्षदेखि लालीगुराँस डट कममा संवाददाताका रूपमा कार्यरत ढकाल लोकदोहोरी प्रतिस्ठान यूएईका शाखाको पूर्वसहसचिव पनि हुन् । उनले करिब दुई दर्जन गीतको भिडिओमा अभिनयसमेत गरेका थिए ।

त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खोचबाट शव मंसिर ४ गत बाहिर निकालिएको थियो ।

स्याङ्जाका प्रकाश ढकाल कृष्णभीरमा मृत फेला