जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा २३ वर्षपछि ऐतिहासिक संस्कार जोगाउने उद्देश्यले निकालिएको बाघजात्रा सकिएको छ । बुधबार पोखरा रंगशालामा एक कार्यक्रमका बीच जात्रा सकिएको हो । जात्रैजात्राको पर्वका रुपमा परिचित बाघजात्रामा पोखरा, भक्तपुर लगायतका स्थानबाट कलाकारहरुको उपस्थिति थियो । पहिले नेवारसमूदायमा मात्रै सिमित यो जात्रा मनाउन अहिले अन्य समूदायका मानिसहरुको आगमन पनि बाक्लै देखिन्थ्यो । सामाजिक अभियान्ता सुनिल उलकका अनुसार अहिलेको जात्रा एक हिसाबले सफल भएको छ तर सोचेजस्तो भने हुन सकेन । ‘जात्रा एक हिसाबले सफल मान्नुपर्छ । तर पनि हामीले सोचे जस्तो भएन । प्रत्येक टोलटोललाई पत्र पठाएका थियौं । टोलले पत्र नपाएको कुरा आयो । समूहगत रुपमा आउनुपर्ने जात्राहरु आएन । अपेक्षा गरिएको संख्या थियो त्यो पुरा भएको छैन । समग्रमा खुशी छौं । २३ वर्षपछि जात्रालाई निरन्तरता दिने विषयलाइ नै उपलब्धि ठानेका छौं ।’, उनले भने । अगाडिको जात्रामा अन्य समुदायको सहभागिता नभएता पनि अहिले सबैलाई समेट्ने प्रयास गरिएको उनले बताए । उनले भने, ‘कुनै पनि जात्रा वा संस्कार कसैको व्यक्तिगत हुँदैन । हामी सबैले सहकार्य गर्न सक्नुपर्छ । एकले अर्काको संस्कृतिलाई माया गर्नुपर्छ ।’ उनका अनुसार यसपालीको बाघजात्रामा मगर, शेर्पा, भोटे लगायतको समुदायको सहभागिता रहयो ।
अब भने ७ वर्षमा नै बाघजात्रा निकालिने उनले बताए । चार वर्षपछि भैरवजात्रा निकालेर त्यसको ३ वर्ष पछि बाघजात्रा निकाल्ने प्रचलन छ । उनका अनुसार तीन दिनको कार्यक्रममा तायमचा, लाखेनाच र कुमारी प्रदर्शन रहयो ।
२३ वर्ष पछिको आकर्षण सुनिलले बढ्दो पाएका छन् । भैरव जात्रामा युवा पिडीहरु लागेको भनाइ उनको छ । संस्कृति जोगाउन पुस्ताहस्तान्तरण समेत गरिएको छ । जसले गर्दा बाजा बजाउन, नाच्न सबै विषयमा नयाँ कलाकार पनि पोख्त भएका छन् ।
‘बाघ मार्ने विशेष ताल हुन्छ । त्यो ताल लोप हुने अवस्थामा थियो । कृष्णदेव प्रधानाङ्ग र मेघबहादुर ताम्राकर लाई मात्र बाघ मार्दा बजाउने तालको विषयमा ज्ञान थियो । अहिले ८ जनालाई तालिम दिएका छौं । अबको २५ वर्ष सम्म तालको संरक्षणमा जुटेका छौं । ताल नै हराउँदा बाघजात्रा हुँदैन ।’, उनले भने ।
नकरात्मक कुराको अन्त्यका लागि बाघजात्रामा बाघ मार्ने चलन छ । मान्छेभित्रका गलत तत्वहरुलाई हटाइ सकरात्मक सन्देश प्रवाह गर्न बाघजात्रा निकालिन्छ ।