जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा विगत २३ वर्षदेखि हुन नसकेको जात्राको पनि जात्रा मानिने बाघजात्रा सुरु भएको छ । पोखराको नेवा छेँको भवनबाट सुरु भएको बाघजात्रा तीन दिनसम्म पोखराका विभिन्न ठाउँमा परिक्रमा गर्दै समापन हुने छ ।
तत्कालीन द्वन्दकालीन समयमा सशस्त्र युद्धको विचमा हजारौँ दर्शकहरुको सहभागीता हुने गरिन वि.सं. २०५७ सालमा तीन दिनसम्म नचाइएको बाघजात्रा त्यसपछि हुन सकेको थिएन । संस्कृतिप्रेमीहरुको अगुवाईमा २३ वर्षपछि पुनः जागृत बनेको यो जात्राको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका छन् । जात्रा उद्घाटन गर्दै उनले विगतमा के कारणले जात्रा हुन सकेन भन्दा पनि अब यसलाई निरन्तरता दिदै लैजानुपर्ने धारणा समेत राखेका छन् । उनले अहिलेको डिजिटल युगमा बाघजात्राबारे यसबारेमा रुचि राख्ने व्यक्तिहरुलाई समेत बुझाउन डकुमेन्ट्री समेत बनाउनुपर्ने सुझाव दिएका छन् ।
पछिल्लो समयमा बाघजात्राको अगुवाई गरीरहेका बाघजात्रा आयोजक समितिका संयोजक जवाहरलाल श्रेष्ठले बाघ जात्रा आयोजना र पुनरुत्थान गर्न साथ दिने सबैलाई धन्यवाद दिदै आगामी वर्ष पनि यो जात्रा निकालिने प्रतिवद्धता जाहेर गरेका छन् । उनले बाघजात्राको संरक्षकका रुपमा पोखरा महानगरपालिका रहेको जानकारी दिदै आगामी दिनमा पनि जात्राको संरक्षण संवर्धन र प्रवर्दनमा साथ दिन आग्रह गरेका छन् ।
पोखरामा बाघजात्रा यहि मितिदेखि सुरु भयो भन्ने ऐतिहासक प्रमाण नभेटिएपनि बाघजात्राको आयोजना कृषि युगसँग सम्बन्धित भएको कतिपयको बुझाई रहेको छ । पुराना बुढा पाकाहरूका अनुसार पहिला पोखरा बजारको चारै तर्फ घनघोर जंगल थियो र जंगली बाघ, भालु जस्ता हिंस्रक जनावर ले मानव वस्ती मा पसेर बेलाबखत जनधनको ठूलो क्षति गर्ने गर्दथे । कृषि पेशामा आबद्ध मानिसहरू बाघसँग लड्न भिड्न सक्दैनथे र स्वभावतः सहयोगका लागि राजासँग गुहार माग्नु पर्दथ्यो । साह्रै अप्ठेरो भएपछि जनताले राजासँग जंगली जनावर ले दुःख दिएको बिन्ती सुनाउँथे राजा पनि जनता लाई सहयोग गर्न आउने गर्थे । ठीक यही परिदृश्य प्रस्तुत हुने गर्छ बाघजात्रा मा । राजा ले आफ्ना मन्त्रीगण र सेना लिएर बाघ को शिकार गर्न आएको कथनलाई नै बाघजात्रामा चित्रण गर्ने गरिन्छ ।