जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताएका छन ।

नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको १५औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई आज सम्बोधन गर्दै प्रमुख आचार्यले उक्त अभियान सुरु गरेको बताए । “पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेका छाँै”, आचार्यले भने , “नेपाल सरकारले बेवास्ता गरी आनाकानी गरेमा सन् २०२३ भित्र गण्डकी प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने छ ।”

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि केन्द्र सरकारलाई केही समय कुरौँ र आग्रह गरौँ, यदि केन्द्रले वास्ता नगरे प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने आश्वाशन दिनुभएको जानकारी पनि प्रमुख आचार्यले दिए ।

पर्यटकीय रुपमा सुन्दर पोखरालाई पर्यटन राजधानी घोषणासँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न भारतीय सरकार र नेपालका एयरलाइन्स कम्पनीसँग छलफल गरी अन्तर्राष्ट्रिय उडानलाई नियमितता दिनतर्फ तीनै तहका सरकार र यहाँका पर्यटन व्यवसायी लाग्नुपर्नेमा उनको जोड छ ।

पर्यटकीय राजधानी घोषणासँगै यहाँका होटेलको स्तरोन्नति गर्नुपर्नेमा आचार्यको जोड छ । पर्यटकलाई चाहिने पाँच तारेदेखि साना होटल घरजस्तो नभइ होटलजस्तो बनाउनुपर्नेमा उहाँले आग्रह गर्नुभयो । पर्यटकको बसाईं लम्ब्याउन पनि यहाँका पर्यटन व्यवसायीले यस क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न जरुरी भएको भनाइ उहाँको छ । पर्वतारोहण गर्ने स्वदेशी तथा विदेशी पर्यटक एक्लै नभइ ‘गाइड’को सहायतामा पर्वतारोहण र ट्रेकिङ गर्न अनिवार्य बनाइनुपर्नेमा उनको जोड छ ।

संस्थाका सल्लाहकार टीकाराम सापकोटाले पर्वतारोहण गर्ने पर्यटकलाई त्यस क्षेत्रका बारेमा बुझाउन नसक्दा उनीहरु गाइड बिना नै पदयात्रा गर्दा हिमाली क्षेत्रमा पर्यटक हराउनुका साथै मृत्यु समेत हुने गरेको बताए ।

नेपाल पर्वतारोहण सङ्घका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले पर्यटकलाई सहज रुपमा घुम्ने वातावरण बनाए उनीहरुले आफ्नो बसाईं थप लम्ब्याउनुका साथै अर्को पटकसमेत घुम्न आउन सक्ने बताए ।

सङ्घका प्रदेश अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पर्वतारोहणको क्षेत्रमा कलम चलाउने पोखराका पत्रकार दीपक परियारलाई सम्मान गरिएको हो । साथै अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने बताइएको छ ।