पोखरा यति विमान दुर्घटना: २४ जनाको पोस्टमार्टम पोखरामै हुने , बाकी शव काठमाडौं पठाइने
यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका २४ जनाको पोस्टमार्टम पोखरामै हुने भएको छ ।
आइतबार भएको दर्घटनामा परेकाहरुको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)मा राखिएको छ । सोही अस्पतालमा आज २४ जनाको पोस्टमार्टम हुन लागेको हो ।
अस्पतालको पोस्टमार्टम गृहमा भएका ६९ मध्ये ४४ शवको पहिचान भएको छ । पहिचान भएका शवको पोस्टमार्टम प्रक्रिया सुरु भइसकेको अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीले बताए । उनका अनुसार ७ सदस्यीय पोस्टमार्टम टिम बनाइएको छ । दुई फरेन्सिक विशेषज्ञ काठमाडौंबाट आएका छन् । त्रिवि शिक्षण अस्पतालका डा.गोपाल चौधरी र डा.समारिका दाहाल पोखरा आएका हुन् ।
पाँचजना पोखराकै फरेन्सिक विशेषज्ञ छन् । ‘पहिला शवको औपचारिक सनाखत हुन्छ त्यसपछि पोस्टमार्टम गर्छौं,’ उनले भने, ‘पोस्टमार्टमपछि पुनः सनाखत गर्नुपर्ने हुन्छ । त्यसपछि शव परिवारलाई बुझाउँछौं ।’ सनाखत हुन नसकेका शव डीएनए परीक्षणका लागि काठमाडौं पठाइने उनले जनाए । मृतकका आफन्तले भने दुर्घटना भएको २४ घण्टाभन्दा बढी भइसक्दा समेत शव बुझ्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
पोखरामा शव परीक्षण हुनेहरूको नामहरु त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रसिद्धि पौडेल रहेको छ ।
त्यस्तै जीवनकला गुरुङ, पूर्णबहादुर गुरुङ, सङ्गीता शाही, सदाकत अलि मिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, डा. गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ र शिवकुमार गुरुङको शव परीक्षण पनि पोखरामा हुनेछ ।