पाेखरा यति विमान दुर्घटनाः थप एकजनाको शव भेटियो , पोष्टमार्टम सुरु
यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा स्थलमा सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ । पोखरास्थित सेती नदीमा पसेर गोताखोरले एउटा शव निकालेका छन् ।
वेपत्ता ४ जनामध्ये एकजनाको शव सेती नदीको पानीमा भेटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । दुर्घटनामा परेका ३ जनाको अवस्था अझै अज्ञात छ । सेतीको पानीमा सशस्त्र प्र्रहरी बलका गोताखोरले खोजिरहेका छन् ।
पानीबाट निकालिएको शव सशस्त्र प्रहरीले गण्डकी अस्पतालमा पठाउने तयारी गरिरहेको छ । दुर्घटनास्थलमा ३ जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोली कुरिनटारबाट दुर्घटनास्थलमा पठाएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए ।आइतबार पोखराको सेतीखोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिहरुको पोष्टमार्टम सुरु भएको छ।
शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पोष्टमार्टमलगायत प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई बुझाउने तयारी भइरहेको जानकारी दिए। पोष्टमार्टममा लागि गठित विशेषज्ञ टोलीमा काठमाडौँबाट आएका दुई विज्ञ चिकित्सकसहित पोखराका चिकित्सक पनि सम्मिलित छन्।
दुर्घटनामा निधन भएका ६८ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा राखिएको छ। एउटा शव पोष्टमार्टम गर्न आधादेखि डेढ घटासम्म समय लाग्ने अस्पतालले जनाएको छ।
पोष्टमार्टमपछि पोखरा र आसपासका व्यक्तिको शव आफन्तलाई बुझाइने छ भने विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरु काठमाडौँस्थित शिक्षण अस्पतालमा पठाइनेछ।
पोष्टमार्टमपछि शव बुझ्न दिवङ्गतका आफन्तजन अस्पताल परिसरमा जम्मा भएका छन्। दुर्घटनामा परेका चार जना अझै बेपत्ता छन्। बेपत्ताको खोजी कार्य चलिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।