पोखरा यति विमान दुर्घटना : २६ जनाको शव पहिचान , पोष्टमार्टम ढिलाइ काठमाडौंबाट टोली आएपछि मात्र पोस्टमार्टम हुने
यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये ६८ वटा शव यतिबेला पोखराको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ।
तीमध्ये २६ जनाको मात्र पहिचान खुलेको छ। तर, शवको पोष्टमार्टम भने अहिलेसम्म पनि हुन सकेको छैन।
कास्कीका एक सुरक्षा अधिकारीका अनुसार टिचिङ अस्पतालको विज्ञ टोलीले गरेको पोष्टमार्टम रिपोर्टलाई आधिकारिक मानिने भएकाले पोष्टमार्टममा ढिलाइ भएको हो।
‘विमान दुर्घटनामा निधन भएकाहरुको बीमा गरिएको हुन्छ, अन्तर्राष्ट्रिय रुपमा टिचिङको विज्ञ टोलीबाट भएको पोष्टमार्टमलाई आधिकारिक मानिन्छ’,ती सुरक्षा अधिकारीले भने, ‘उहाँहरुले स्वीकृति दिएपछि मात्र पोष्टमार्टम गर्न सकिन्छ, जानेहरु त गइसके, आश्रित परिवारलाई इन्स्योरेन्सबाट आउने रकमले राहत प्रदान गर्छ। त्यो प्रक्रियामा कठिनाइ नहोस् भनेर हामीले उताको स्वीकृति कुरेका हौँ।’,उनले भने
पहिचान नभएका, विदेशी नगारिक र चालक दलका सदस्यहरुको शव त यसैपनि काठमाडौं पठाउने तयारी भएको उनले बताए। ‘उस्तै परे, टिचिङको टोली आउनुपर्ने अवस्था पनि हुनसक्छ।’ ती अधिकारी भन्छन्।