मंसिर १६ गतेदेखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुने
जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हुने मेला मंसिर १६ देखि २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा संचालन हुनेछ ।
व्यापार मेला पोखरा महानगरपालिकाको सहयोग एवम् नेपालकै प्रतिष्ठित व्यवसायिक घराना लक्ष्मी हाउसको मुख्य प्रायोजनमा ‘लगानीको सम्वर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने उद्देश्यसहित मेलाको आयोजना गर्न लागिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला समितिका सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा २५१ सदस्यीय मुल आयोजक र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन गरिएको छ । कार्यसम्पादन समितिअन्तर्गत सल्लाहकार समितिका अलावा विभिन्न २५ वटा उपसमिति पनि गठन भइसकेका छन् ।
समिति मेलाको तयारीमा जुटिसकेको र स्टल बुकिङको काम पनि तीव्र गतिमा भइरहेको अध्यक्ष प्रजापतिले बताएका छन् । मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा स्टल गरी करिब २५० स्टल रहने छन् ।
पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने उद्देश्यले मेलाको आयोजना गरिएको हो । मेलाको प्रवेश टिकटको हकमा सर्वसाधारणको लागि रु.१ सय र विद्यार्थीको लागि रु.६० कायम गरिएको छ । मेला अवलोकनकर्ताले क्यूआर कोडमार्फत् पनि टिकटको भुक्तानी गर्ने तथा मेला स्थलमा रहेका सम्पूर्ण स्टलहरुको जानकारी प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।
मेलामा दैनिक उपभोग्य एवं अन्य सामग्रीमा भारी छुटको व्यवस्था मिलाइएको छ । मेलाबाट अनुमानित १ करोडको कारोबार हुने र अनुमानित खर्च रु ८५ लाख कटाउँदा १५ लाख बचत हुने अनुमान गरिएको छ । यस वर्षको मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रवर्द्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने अध्यक्ष प्रजापतिले बताए ।