जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

क्रिकेटर लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। आज अधिवक्ताहरु कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लव मैनाली र रमण श्रेष्ठले सन्दीपको तर्फबाट बहस गरेका थिए। सोमबार अभियोग पत्र दर्ता भएपछि मंगलबार सन्दीपको बयान गराइएको थियो।

जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाई भइरहेको हो।

बुधबारदेखि नै थुनछेक बहस सुरु भएको हो। लामिछानेका तर्फबाट कानुन व्यवसायी धेरै भएकाले बहस लम्बिएको छ।

पीडितको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका चार जना वकिलले बहस गरेका छन्। यस्तै निजी चार कानुन व्यवसायीले पनि पीडित किशोरीको पक्षबाट बहस गरेका छन्।

पीडित पक्षका कानुन व्यवसायीले बलात्कार भएको दाबी गरेका छन्। सन्दीपका कानुन व्यवसायीले भने बलात्कार नभएको र किशोरीको उमेर पनि १९ वर्ष पुगेको जिकिर गरेका छन्। यसअघि नागरिकताका आधारमा किशोरीको उमेर १८ वर्ष मात्रै रहेको दाबी गरिएको थियो।

सन्दीप पक्षले भने किशोरीको उमेर १९ वर्ष रहेको प्रमाण पेश गरेको छ। सन्दीप पक्षले किशोरीको उमेर १९ वर्ष रहेको जन्मदर्ता, बसाईसराइको प्रमाण पत्र र सुरुमा विद्यालयमा भर्ना हुँदाको प्रमाण पेश गरेको छ। जसअनुसार किशोरीको उमेर १९ वर्ष पुगेको देखिन्छ।

१८ वर्षभन्दा कम उमेर भए सहमतीमै भएको करणीलाई पनि बलात्कार मानिने भएकाले अदालतमा बहस उमेरमा केन्द्रित भएको छ।