सुर्यदर्शन सहकारीमा रवि विरुद्ध सहकारी ठगीमा जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ
जन्मभुमि खबर ,
पोखरा ।
रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा जाहेरी दिने मुख्य जाहेरीकर्ता कृष्ण जैसी आफैं सहकारी ठगी आरोपमा पक्राउ परेका छन् ।
जैसीले आफू पोखराको सूर्यदर्शन सहकारी पीडित भएको भन्दै जाहेरी हालेका थिए । अहिले उनै जैसी पोखराकै धनुष सहकारी ठगी आरोपमा पक्राउ परेका हुन् ।
उनले ८२ लाख रकम अपचलन गरेको आरोप छ । कास्की प्रहरी स्रोतका अनुसार जैसी प्रहरीको नियन्त्रणमा छन् भने अन्यको पनि खोजी कार्य भैरहेको छ ।
चुनावी प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की ३ की उम्मेदवार विना गुरुङलाई उनले बच्चाको स्कुलको विल बुझाएका थिए ।
रास्वपा सभापति रवि लामिछानेले सहकारीको पैसा अपचलन गरेर पीडितले फिर्ता नपाएको गुनासो गर्दै उनले रकम फिर्ताका लागि दबाब दिएका हुन् ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले गरेको वित्तीय विश्लेषण प्रतिवेदनका अनुसार धनुष सहकारीको १२ करोड ५६ लाख अपचलन भएको थियो । जसमा जैसी सहित १३ जनालाई प्रतिवादी देखाइएको छ ।
छानबिन समितिले तयार पारेको प्रतिवेदनमा जैशी सहित पूर्वव्यवस्थापक विराज सुवेदी र जगत पौडेलले पनि करोडौं रुपैयाँ दुरुपयोग गरेको उल्लेख छ ।
सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशका अनुसार पोखरा महानगरपालिका वडा नं.९, नयाँबजारमा कार्यालय रहेको यस संस्थाको कुल हिनामिना रकम १९ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।
प्रतिवेदनले जैशीले ऋण समिति सदस्यको हैसियतमा पदको दुरुपयोग गरी सहकारीको रकम व्यक्तिगत लाभका लागि प्रयोग गरेको, चर्को मिटरब्याजमा लगानी गरी ब्याज असुल्ने धन्दा चलाइएको तथा फर्जी ब्याज प्रविष्टि गरी रकम दाखिला नगरेको स्पष्ट पारेको छ । यसैगरी, व्यवस्थापकहरूसँग मिलेमतो गरी फर्जी ब्याज राखेर करिब ४३ लाख ब्याज र अन्य गरी कुल ७२ लाख रुपैयाँ हिनामिना गरेको दाबी गरिएको छ ।
पीडित बचतकर्ताहरूका अनुसार जैशीले सार्वजनिक रूपमा सहकारी पीडितको पक्षमा उग्रआवाज उठाउने गरे पनि आफैं ठगीमा संलग्न रहेको खुलासापछि यतिबेला सबैजना स्तब्ध भएका छन् । जैशीसँग पैसा फिर्ता गर्न आग्रह गर्दा उल्टै धम्की दिने गरेको पीडितहरूको गुनासो छ ।
सहकारी ठगीमा संलग्न जैशीले क्रमिक रुपमा साना सहकारीमा मिटर ब्याजमा लगानी गरी रकम असुल्ने र फर्जी बचत बनाई रकम निकासी गर्ने गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । उनले सोही सिलसिलामा सूर्यदर्शन सहकारीमा बचतकर्ता बनी रकम लगेर दाखिला गराए पश्चात् उल्टै ठगिएको र सुरु अनुसन्धानमा जाहेरी नराखी रविविरुद्धको अनुसन्धानमा जाहेरी दिएका थिए ।