जन्मभुमि खबर ,
पोखरा।
पोखरामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह सुरु भएको छ ।
सुक्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले डिभिजन वन कार्यालय कास्कीले वन डढेलो नियन्त्रण सप्ताह सुरु गरेको हो ।
सप्ताहको अवसरमा पोखरा १८ सराकोटमा रहेको चिसाखोला सामुदायिक वनमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना, फायर लाइन सफा गर्ने, नमुना अभ्यास, पातपतिंगर हटाउने तथा जलाउने लगायतका कार्य गरिएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।
वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न वन डढेलो सचेतना सप्ताह सञ्चालन गरिएको उनको भनाइ छ । ‘वन संरक्षणका लागि कार्यालयसँग सिमित स्रोत साधन र तालिम प्राप्त जनशक्ति छैनन् त्यसैले वनको संरक्षण उपभोक्ता समूहले नै गर्नुपर्छ । वन नियमित सफा राखेमा आगोलागी हुन पाउँदैन,’ उनले भने ।
चिसाखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बाबुराम तिमिल्सिनाले वन मानव जीवनको अभिन्न अंग भएकोले यसको संरक्षणमा लाग्नुपर्ने बताए । डढेलोले वन स्रोत, वातावरणीय सन्तुलन, मानव स्वास्थ्य र जनधनमा गम्भीर नकारात्मक असर पार्ने भएकाले यसको रोकथाम र नियन्त्रणका लागि समयमै पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको उनको भनाइ छ ।
डिभिजन वन कार्यालय कास्कीका अधिकृत गणेशबहादुर कार्की नेपालमा सुक्खायाम सुरु भएसँगै फागुनदेखि जेठसम्म डढेलो लाग्ने सम्भावना उच्च रहने जानकारी दिए ।
उनका अनुसार सप्ताहको पहिलो दिन कास्कीमा रहेका संवदेनशिल वनको पहिचान र अवलोकन गरिएको थियो । दोस्रो दिन वन डढेलो तथा रोकथामका सुचना प्रसारण गरिएको थियो । तेस्रो दिन जिल्लास्थित सुरक्षा निकायहरूसँग समन्वय गरी डढेलो नियन्त्रणका लागि कार्यदल गठन गरिएको छ । छैटौँ दिन सुरक्षा निकायलाई आवश्यक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।
उनले डढेलो नियन्त्रण केवल कार्यालयको जिम्मेवारी मात्र नभई नागरिकको सक्रिय सहभागिता पनि आवश्यक रहेको उल्लेख गरे ।
विद्यालयहरुमा समेत आगलागी तथा डढेलो सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
चैत १ गतेदेखि ७ चैतसम्म विभिन्न कार्यक्रम गरेर सप्ताह मनाइने र जेठ मसान्तसम्म डढेलोको समय भएकोले विशेष निगरानीका कार्यक्रम हुनेछ ।
