जन्मभुमि खबर ,
पोखरा ।
पोखराबाट ठुलो परिमाणमा लागुऔषधसहित आयुष तामाङ पक्राउ परेका छन् । झण्डै २५ सय एम्पुल लागुऔषधसहित पोखरा २९ सैनिक बस्तीबाट १९ वर्षीय तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनको कोठा खानतलासी गर्दा डाईजापाम १ हजार ७ सय २१ एम्पुल, फेनेरागन ३ सय ३४ एम्पुल र बुप्रिनर्फिन ३ सय ७७ एम्पुल गरी कुल २ हजार ४ सय ३२ एम्पुल लागुऔषध बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
उनको साथबाट ९३ हजार ५ सय रुपैयाँ नगद र दुई थान मोबाइल समेत बरामद भएको छ । उनलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बस्नेतले बताए।
यसैगरी पोखरा १० रामघाटबाट खैरो हिरोइन सहित अर्का एक जना पक्राउ परेका छन् । ८ ग्राम १५ मिलिग्राम खैरो हिरोइन सहित तनहुँ घर भई हाल सोही ठाउँ बस्ने २० वर्षीय शिव गिरीलाई पक्राउ गरिएको हो ।
उनको साथबाट एक थान मोबाइल बरामद पनि गरिएको छ । उनलाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको बस्नेतले जानकारी दिए।
कास्की प्रहरीका अनुसार चालु आर्थिक वर्षमा मात्रै लागुऔषध सम्बन्धी ८० वटा मुद्दा दर्ता भएका छन् भने १ सय २० जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा १ सय ११ जना पुरुष र ९ जना महिला छन्।