जन्मभुमि खबर ,
पोखरा ।
कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ धम्पुसमा नवनिर्मित ‘आलडाँडा उद्यान’ (पार्क) सञ्चालनमा आएको छ। माछापुच्छ्रे गाउँपालिका–७ मा अवस्थित यस उद्यानले धम्पुसको पर्यटनमा नयाँ चमक थप्ने र पर्यटकको बसाइ लम्ब्याउने विश्वास गरिएको छ।
करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको यस पार्कबाट उत्तरतर्फका हिमशृङ्खलाका साथै हेमजा र पोखरा बजारको सुन्दर दृश्य स्पष्ट देख्न सकिन्छ। यस उद्यानको मुख्य विशेषता ढुङ्गैढुङ्गाले बनेको धम्पुस र बेलायतको ब्रेकन सहरबीचको भगिनी सम्बन्ध झल्काउने स्मारक हो।
धम्पुस समाज युकेको मुख्य लगानी र सक्रियतामा निर्माण भएको यस परियोजनामा समाजको २६ लाख रुपैयाँ तथा स्थानीय सरकार र व्यक्तिगत सहयोग गरी कुल ४० लाख रुपैयाँ खर्च भएको छ। ब्रेकनसँगको भगिनी सम्बन्ध स्थापना भएको सातौँ वर्ष पुगेको अवसरमा यस पार्कलाई औपचारिक रूपमा खुल्ला गरिएको हो।