जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दीपेन्द्रको कीर्तिमानी अर्धशतकमा नेपालले विश्वकपमा निकाल्यो १२ वर्षपछि जित

जन्मभुमि खबर ,

पोखरा ।

आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि जित दर्ता गरेको छ ।

मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित दर्ता गरेको हो ।

नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा २ जित हात पारेको थियो। नेपालले पहिलो पटक विश्वकप खेल्दा सन् २०१४ मा हङकङलाई ८० रनले हराएको थियो ।

समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएको थियो। त्यसयता नेपालले विश्वकपमा जित निकाल्न सकेको थिएन ।

नेपाललाई विश्वकपमा जित निकाल्न १२ वर्ष लाग्यो। समूह चरणको अन्तिम खेलमा जित निकालेसँगै नेपालले जारी विश्वकपमा शान्त्वना जित हात पार्यो ।

दोस्रो पटक नेपालले सन् २०२४ मा विश्वकप खेल्दा जितविहीन यात्रा टुङ्ग्याएको थियो ।

जारी विश्वकपको समुह चरणमा नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोर्यो । तेस्रो खेलमा वेष्ट इण्डिजसँग ९ विकेटको हार भोगेको थियो ।

स्कटल्यान्डले दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले ४ बल अगावै ३ विकेटको क्षतिमा भेट्टायो।

नेपालका लागि दीपेन्द्र सिहं ऐरि ५० गुल्सन झा २४ रनमा अविजित रहे ।

नेपालका लागि दीपेन्द्रले २० औँ ओभरको पहिलो बलमा २३ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे । जारी विश्वकपमा यो दीपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि उनले वेष्ट इण्डिजविरुद्ध अर्धशतक हानेका थिए । गुल्सनले १७ बलमा १ चौका र २ छक्का सहयोगमा २४ रनमा अविजित रहे ।

चौथो विकेटका लागि दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले ७३ रनको अविजित साझेदारी गरेपछि नेपालले जारी विश्वकपमा पहिलो जित हात पारेको हो ।

ओपनर कुशल भुर्तेल ४३ रन बनाउँदा क्याच आउट हुन पुगे । ३५ बलमा १ चौका ६ छक्का सहयोगमा ४३ रन बनाएका कुशल माइकल लिस्कको बलमा क्याच आउट भए ।

अर्का ओपनर आशिफ शेख २७ बलमा २ छक्का सहयोगमा ३३ रन बनाउँदा माइकल लिस्क कै बलमा क्याच आउट भए ।

कप्तान रोहित पौडेल १४ बलमा १ चौका मद्दतमा १६ रन बनाउँदा माइकल कै बलमा क्याच आउट हुन पुगे ।

स्कटल्यान्डका लागि ३ विकेट माइकल लिस्कलले लिए उनले आफ्नो स्पेलमा ३० रन खर्चे ।

त्यसअघि मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको हो ।

पहिलो विकेटका लागि ओपनर जर्ज मुन्से र माइकल जोन्सले १० ओभरमा ८० रनको साझेदारी गर्दै स्कटल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

१० औँ ओभरको अन्तिम बलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अ‍ोपनर जर्ज मुन्सेलाई सन्दीप जोराको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए। २९ बलमा ४ चौका सहयोगमा २७ रनमा क्याच आउट भए ।

त्यसअघि १० औँ ओभरको पाचौँ बलमा माइकलले ३१ बलमा ६ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। त्यसको दोस्रो बलमा जर्ज आउट भए ।

दोस्रो विकेटका लागि माइकल र ब्रान्डोन म्याक मुलेनले ५२ रनको साझेदारी गरेका थिए । १६ औँ ओभरको दोस्रो बलमा ७१ रन बनाएका माइकल जोन्स सोमपाल कामीको बलमा बोल्ड आउट भए। उनले ४५ बलमा ८ चौका र ३ छक्का हाने ।

१६ औँ ओभरको चौथो बलमा २५ रन बनाएका ब्रान्डोम सोमपाल कै बलमा कट एण्ड बोल्ड हुन पुगे। ब्रान्डोमले १९ बलमा १ चौका र १ छक्का हानेका थिए ।

कप्तान रिची बेरिङटोन १० रन बनाउँदा कुशल भुर्तेलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे ।

म्याथु क्रस ४ रनमा नन्दन यादवको बलमा बोल्ड आउट भए। टोम ब्रुस ५ रन बनाउँदा सोमपाल कै बलमा बोल्ड आउट भए।

माइकल लिस्क ४ रन बनाउँदा नन्दनको बलमा आशिफ शेखको हातबाट आउट भए ।

मार्क वाट १० ओलिभर डेविडसन १ रनमा अविजित रहे ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। सोमपालले आफ्नो स्पेलमा २५ रन दिए ।

नन्दन यादवले २ विकेट आफ्नो नाममा गरे। कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान एक विकेट लिए। कुशलले आफ्नो स्पेलमा ३७ रन दिए ।