जन्मभुमि खबर ,
पोखरा ।
आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यस वर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
वि.सं. २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो । उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको थियो । तर गणतन्त्र स्थापनापछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको थियो ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ। प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए। प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।