मनाङ २(१)को उपनिर्वाचन स्थगित
जन्मभुमि खबर ,
पोखरा ।
निर्वाचन आयोगले मनाङ २(१)को उपनिर्वाचन स्थगित गरेको छ । जेनजी आन्दोलनका कारण पूर्वनिर्धारित निर्वाचन कार्यतालिका बमोजिमका कार्यक्रम कार्यान्वयनमा समेत असर परेकोले हाललाई स्थगन गरिएको आयोगले जनाएको छ ।
“…२०८२ भदौ २३ गतेदेखि भएको आन्दोलनका कारण स्थानीय प्रशासनबाट कर्फ्यु आदेश जारी भई पूर्वनिर्धारित निर्वाचन कार्यतालिका बमोजिमका कार्यक्रम कार्यान्वयनमा समेत असर परेकोले अर्को निर्वाचन कार्यक्रम पछि प्रकाशन गर्ने गरी पूर्वप्रकाशित निर्वाचन कार्यक्रम बमोजिमका सम्पूर्ण कार्यहरू आयोगको मिति २०८२/०६/१९ को निर्णयानुसार हाललाई स्थगन गरिएको छ,” आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ ।
आइतबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम र कार्यतालिकालगायत निर्वाचन तयारी, राष्ट्रियसभा सदस्य निर्वाचन तथा मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ को उपनिर्वाचन समेतका विषयमा छलफल भएको थियो ।
आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न सबै सरोकारवालाहरूलाई आयोगले आग्रह गरेको छ ।