
प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण : मृतकका परिवारलाई १० लाख दिने निर्णय
जन्मभुमि खबर ,
पोखरा ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार (भदौ २९) पदभार ग्रहण गरेकी छन् । सिंहदबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा उनले पदभार ग्रहण गरेकी हुन् । तत्कालका निम्ति उक्त भवनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय निर्धारण गरिएको छ ।
पदभार ग्रहण गरेपछि प्रधानमन्त्री कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिन् ।
यस्तै, आन्दोलनका क्रममा घाइते भएकाका निःशुल्क उपचारको निर्णय गरिएको छ ।
कार्कीलाई शुक्रबार (भदौ २७) नै प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । सोही दिन उनले पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । कार्यालयको टुंगो नलाग्दा उनी बालुवाटारस्थित आफ्नो निवासमा बस्दै आएकी थिइन् ।