जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा प्रेस रजिष्ट्रार कार्यालय उद्घाटन

गण्डकीमा प्रेस रजिष्ट्रार कार्यालय उद्घाटन गरिएको छ । प्रदेशभित्रको सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेसागत पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको प्रेस रजिष्ट्रार कार्यालय सोमबार औपचारिक रूपमा उद्घाटन भएको हो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री कार्यालयकै परिसरमा रजिष्ट्रार कार्यालय उद्घाटन गरे । उद्घाटनपछि पाण्डेले लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र प्रेस भएको बताए ।

उनले प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य भएको सुनाए । पत्रकारितामा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्न कार्यालय अग्रसर रहने विश्वास उनको छ ।

गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको स्थापना एक ऐतिहासिक कदम हो,’ उनले भने, ‘जसले पत्रकारितामा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्नेछ। यसले सञ्चार माध्यमहरूलाई व्यवस्थित गर्नेछ ।’

रजिष्ट्रार कार्यालय १ वर्षअघि स्थापना भएर सरकारले रजिष्ट्रार समेत नियुक्त गरिसकेको छ । कार्यक्रममा गण्डकीका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले सञ्चार स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको विकासमा प्रेस रजिष्ट्रारको कार्यालय महत्त्वपूर्ण बन्ने बताए ।

प्रेस रजिष्ट्रार विमला भण्डारीले कार्यालयको उद्देश्य, कानुनी अधिकार र कार्यक्षेत्रबारे विस्तृत जानकारी गराएकी थिइन् ।

कार्यालयले गर्ने कार्यहरूलाई स्पष्ट पार्दै उनले कार्यालय केवल दर्ता र नवीकरणको निकाय मात्र नभई पत्रकारिता क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र पेसागत मर्यादा कायम गर्ने अभिभावक संस्था हुने उल्लेख गरिन् ।

कार्यालयले आमसञ्चार क्षेत्रको वार्षिक योजना तथा कार्यक्रम निर्माण, सञ्चार संस्थाको सञ्चालन अनुमतिपत्र प्रदान र नवीकरण, १ सय देखि १ हजार वाटसम्मको एफ.एम. रेडियोको इजाजत, छापा माध्यम, अनलाइन, टेलिभिजन र केबल वितरकको अभिलेख व्यवस्थापन, फ्रिक्वेन्सी योजना निर्माण, गुनासोको सुनुवाइ गर्ने अधिकार पाएको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछाने र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले कार्यालयको स्थापना गण्डकी प्रदेशको सञ्चार क्षेत्रमा संस्थागत सुधारको नयाँ पाटो भएको बताए ।

रजिष्ट्रार कार्यालय चलाउन छुट्टै नियमावली बनाइएको छ भने सञ्चार क्षेत्रको व्यवस्थापन र नियमन गर्न आमसञ्चार ऐन निर्माण गरेको छ ।