जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा गाउँ पर्यटन मार्ट सुरु

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भीटोफ) गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ ।

गण्डकी प्रदेशभित्र होमस्टे सञ्चालन गरिरहेका २७ होमस्टेसँगै कोसी प्रदेश र बन्दिपुरबाट पर्यटन सम्बद्ध प्रतिनिधि मार्टमा सहभागी छन् ।

मार्टमा सहभागी होमस्टेका तर्फबाट आआफ्ना होमस्टेमा दिइने सेवा, प्याकेज तथा आकर्षणबारे जानकारी गराइएको छ भने गाउँ पर्यटन सम्बद्ध विभिन्न विषयमा छलफल सत्रहरू सञ्चालन भएका छन् ।

होमस्टे मार्टको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गाउँ पर्यटनको विकास सरकारको प्राथमिकतामा रहेको बताए । त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले होमस्टे केवल गाउँमै सीमित भएर चल्न नसक्ने बताउँदै सहरका मानिस गाउँ पुग्नैपर्नेमा जोड दिए । गाउँ र सहरलाई पर्यटकीय रुपमा जोड्न मार्ट सञ्चालन गरिएको उनको भनाइ छ ।

मार्टका क्रममा सञ्चार, उद्योग व्यवसाय र पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरूबाट छुट्टाछुट्टै छलफल तथा विचार विमर्श गरिने जनाइएको छ ।