सभामुखसँग रविको आग्रह – सांसद पद निलम्बन फुकुवा गरिदिनुहोस् , तपाईंको निलम्बन फुकुवा गर्न सक्दिनँ
जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटेर सांसद पद निलम्बन फुकुवाको आग्रह गरेका छन् । मंगलबार बिहान सिंहदरबार पुगेका लामिछानेले आफ्नो सांसद पद फुकुवा गरिदिन सभामुख घिमिरेसँग आग्रह गरेका हुन् ।
भेटपछि लामिछानेले आफूले राखेको विषयमा सभामुख घिमिरे सकारात्मक देखिएको बताए । आफ्नो सांसद पद निलम्बनबारे अन्य राजनीतिक दलहरूसँग छलफल गरिदिन सभामुखसँग आग्रह गरेको उनले बताए ।
उनले भने,’सभामुखसँग छलफल भयो । उहाँ मैले राखेको विषयमा चिन्तित हुनुहुन्छ । ऐन आकर्षित कुराहरू केके हुन् यसबारे कानुनी उपचारका लागि पनि ठाउँ राख्नुहोस् भन्नु भयो । छलफलको प्रयास गर्छु भन्नुभयो ।’
गत कार्त्तिक २ गते सभापति लामिछाने सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका थिए । उक्त कसूरमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो। सो मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ । देवराज घिमिरेले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्न नसक्ने बताएका छन् । मंगलबार आफूलाई भेट्न आएका लामिछानेसहित रास्वपाका नेताहरूलाई घिमिरेले निलम्बन आफूले नगरेको स्पष्ट पारेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए ।
“तपाईंको सांसद पद सभामुखले निलम्बित गरेको अवस्था होइन । कानुनः त तपाईंको पद निलम्बित भएको हो,” सभामुखको भनाइ उद्धृत गर्दै अधिकारीले भने, “त्यसकारण मैले निलम्बन फुकुवा गर्न सक्दिनँ भन्ने कुरा बुझिदिनुपर्यो ।”
सभामुखको भनाइपछि लामिछाने बिदा मागेर बाहिरिएका थिए । सभामुखसँगको भेटपछि लामिछानेले आफूलेसँग निलम्बन फुकुवा गरिदिन आग्रह गरेको बताए ।
“संसद्को विषय संसद्बाट नै निवारण गरौँ भन्ने मेरो अभिप्राय हो । म कति ठाउँमा मुद्दा लड्नु भन्ने ठानेर यहाँ नै अपिल गरेको थिएँ । तर, एउटा कुरामा सभामुख के सही हुनुभयो भने यसले भोलि प्रतिशोधको रूप लिन्छ है, भोलि यो हतियार प्रयोग गरेर सरकारको संख्या नै तलमाथि हुन सक्ने सम्भावना हुन्छ भन्नुभयो,” बैठकपछि लामिछानेले भने ।
पार्टीको जिम्मेवारीमा फर्किएपछि लामिछानेले सभामुखलाई भेटेर सांसद पदको निलम्बन फुकुवा गर्न माग गरेका हुन् । सभामुखलाई भेट्न लामिछानेको साथमा उपसभापति डोलप्रसाद अर्याल, प्रमुख सचेतक सन्तोष परियार र सचेतक निशा डाँगीसहित सहभागी गिए ।
यसअघि, उनले गत माघ १८ गते सभामुखलाई भेटेर निवेदनसहित निलम्बन फुकुवा गर्न माग गरेका थिए ।