जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रुपन्देही अदालतको आदेशविरुद्ध उच्च अदालतमा रविको निवेदन

जन्मभुमि खबर ,
पोखरा ।

रुपन्देही अदालतको आदेशविरुद्ध उच्च अदालतमा रविको निवेदन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दायर गरेका छन् ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

लामिछानेले अहिलेसम्म आफू मौन रहेको बताउँदै अब बोल्ने समय निकै नजिक आएको बताएका छन् । लामिछानेले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

“मेरो बोल्ने समय निकै नजिक आउँदैछ । म बोल्ने नै मान्छे हुँ । प्रतीक्षा गर्नुहोला । छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित आउँदैछु,” लामिछानेले भने ।

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझेको भन्दै दफा ७३ को व्यवस्थाअनुसार आदेश बदरको मागसहित  लामिछानेले सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दायर गरेका हुन्।

यसअघि लामिछानेले जिल्ला अदालत कास्कीले माग गरेको ६५ लाख रुपैयाँ धरौटी पनि बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा पनि निवेदन दायर गरेका थिए। त्यस्तै ६० लाख धरौटी माग गर्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पनि निवेदन दायर गरेका छन्।

लामिछानेलाई चितवन जिल्ला अदालतले पनि ५४ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो।