पुम्दिकोट ज्ञान महायज्ञको तयारी तिव्र
पुम्दिकोट कोट विकास समितिको आयोजनामा हुन लागेको श्रीमद भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा २०८१ को तयारी तिव्र पारिएको छ । महोत्सव मुल आयोजक समितिका अध्यक्ष एवम् प्रचारप्रसार उप समितिका सयोजक चन्द्रकान्त बरालको अध्यक्षतामा प्रचारप्रसार समितिको कार्यालय बरालफिडमा शनिबार सम्पन्न उपसमितिको बैठकले प्रचारप्रसारको मोडल तय गर्दै विद्यालय र विद्यार्थीहरुको हात हातमा पर्चा पठाउने, जिङ्गल बनाएर गाडिहरुबाट बजाउने, सार्वजनिक यातायातमा ब्यानर टास्ने प्रबन्ध गर्ने, सामाजिक संजाल गण्डकी प्रदेश भरी बुस्ट गर्ने, मेला महोत्सवहरुमा प्रचार गर्ने लगायतका निर्णय गरेको छ । सो बैठकले माघ २५ गते अर्को बैठक बस्ने समेत निर्णय गरेको छ । त्यस्तै बैठकले १ सय ७ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको समितिका व्यवस्थापक रुद्र पौडेलले जानकारी दिए ।
समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै ज्ञान महायज्ञको आयोजना गरिएको आयोजक पुम्दिकोट कोट विकास समितिले जनाएको छ । ज्ञान महायज्ञ आगामी फाल्गुन ७ गतेदेखी १५ गतेसम्म चल्नेछ । फागुन ७ गते कलश यात्रा हुने आयोजकले जनाएको छ । यस अघि पुम्दिकोटमा वि स २०७३ र ०७९ सालमा ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सम्पन्न भइसकेका छन् । पर्यटकीय राजधानी पोखरा आउने पर्यटकको बसाई एक दिन लम्ब्याउने उद्देश्य अनुरुप साझको समयमा विशाल शिवको मुर्तिलाइ पर्दा बनाइ लेजर लाइट मार्फत शिवलिला प्रदर्शन गर्ने, कैलाश पर्वतदेखी सुमेरु पर्वतसम्म पहुँच विस्तार गर्न सिसाको पुल निर्माण गर्ने, हरियाली उद्यान, अन्तराष्टृय ध्यान केन्द्रमा इको साउन्ड नियन्त्रण गर्ने जस्ता रणनैतिक लक्ष्य महोत्सवले राखेको छ भने समाजमा बिग्रदै गएको मानसिक स्वास्थ्यलाइ आध्यात्मिक जागरण मार्फत हाम्रो मन,चित्त शुद्धीकरण गर्ने र सनातन धर्मको संरक्षण गर्दै आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रुपमा पुम्दिकोट बनाउने मुल उद्देश्य सहित महायज्ञको आयोजना गरिएको हो ।
महायज्ञमा दैनिक कथा वाचिका राधिका दासिबाट भागवतमन्जरी वाचन हुनेछ । महायज्ञ अन्तर्गत फागुन ९ गते कलशयात्रा पुर्वाङ्ग पुजा एव आरम्भ गरिने छ भने नियमित दैनिक कार्यक्रम पनि रहनेछन् । दैनिक बिहान ७ देखि १० बजेसम्म नित्यपुजा, पाठपारायण र जप, बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म भागवतमन्जरी, हरेक दिन बेलुका ५ बजे महाआरती, साझ साढे ६ बजेदेखी ९ बजेसम्म महात्म्य तथा सास्कृतिक झाकी, फागुन १४ गते साझ लाखबत्ती प्रज्वलन गरिनेछ भने १५ गते अपराह्न साढे ४ बजे हवन, पुर्णाहुति, अभिषेक, तिलक प्रसाद ग्रहण लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । महायज्ञमा दान गर्ने दाताहरुलाइ दान रकमको आधारमा विगतका महायज्ञ सरह सम्मान गरिनेछ ।