कास्कीमा पनि जनयुद्ध दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईयो
पोखरा ,
३० औं जनयुद्ध दिवस पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र कास्की शाखा सहित विभिन्न पार्टीका जनबर्गीय संघ संस्थाहरुले महान शहिद तथा वेपक्ता योद्धाहरुले मुलुक परिवर्तन गर्न पुर्याएको योगदानलाई उच्च कदर गर्दै कास्कीमा विभिन्न कार्यक्रम सहित जनयुद्ध दिवस मनाइएको पार्टीका कास्की इन्चार्ज नेत्रनाथ अधिकारी (हिमाल)ले बताउनुभयो ।
विहिबार पोखरा सहित कास्कीमा शहिदहरुको स्मृतिमा माल्यारोपण देखि दिप प्रज्वलन तथा विचार गोष्ठी एवं रंक्तदान लगायतका कार्यक्रम कार्यक्रम भएको उहाँले जनाउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज दीननाथ शर्माले समाजबादी क्रान्तिको अभियान सफल पार्न पार्टी र जनता एक हुन आग्रह गर्नु भयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र कास्की शाखाले ३० औं जनयुद्ध दीवसको अवसरमा विहिबार पोखरामा आयोजना गरेको जनयुद्ध, सत्य निरुपण र मेलमिलाप –टिआरसी) बिषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता शर्माले उक्त कुरा बताउनु भएको हो ।
हिजाको धुलो मैलो फालेर पुनः जनता तर्फ फर्किने, मेचि देखि महाकाली हुदै तराई देखि हिमालसम्म पुग्ने अभियानमा आफुहरु जुटेको उहाँको दाबी थियो । समाजबादी क्रान्तिलाई पूरा गर्न विगतमा केही गल्ती भए जनता सामु माफ मागेर मिसन २०८४ मा लाग्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो“हामी नेपाली हौं, यहाँ बसोबास गर्ने, आदिवासि, जनजाति, लोपउन्खुम समुदायका र उत्पिडनमा परेका जाति तथा समुदायलाई एकबद्ध ढंगले अघि बढाएको खण्डमा मात्र समाजबादी क्रान्ति सफल हुन्छ, त्यो कार्यभार पूरा गर्न हामी एक हुनु पर्छ । ” जनयुद्धमा जनताले दिएको खाना, खाजा र औषधिलाई कहिलै नभुल्ने स्मरण गर्दै नेता शर्माले शहिद तथा जनाआन्दोलनका घाइतेले देखाएको बाटो आफुहरुले पूरा गर्नुपर्नेमा जोड दिनुभयो । अब कसैले कसैलाई निषेध नगरी समेटर अघि बढ्न उहाँले आग्रह गर्नु भयो । शहिदको रगत र आफुहरुको पसिनाले गर्दा २ सय ४० बर्षको राजतन्त्रको अन्त्य भएको शर्माको दाबी थियो ।
लेखक तथा बरिष्ट अधिवक्ता खिमलाल देवकोटाले जनयुद्ध दिवसको सन्दर्भः नेपाली शान्ति प्रकृया उपलब्धी र बाँकी कार्यभार एक समिक्षा सम्बन्धि आफ्नो विचार प्रस्तुतः गर्नु भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा नेताहरु समेत वोल्नु भएको थियो ।