फेरि उपाधिबाट चुक्यो नेपाल, म्यानमारसँग स्तब्ध
जन्मभुमि खबर ,
पोखरा ।
नेपाली महिला फुटबल टिम घरेलु मैदानमा उपाधि चुम्नबाट चुकेको छ । हजारौँ दर्शकका अगाडि बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चारदेशीय महिला फुटबल च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल म्यानमारसँग दुई शून्यको गोल अन्तरले पराजित भयो । म्यानमारसँग पराजित भएसँगै उपाधि भिडन्तमा हानर व्यहोर्ने नेपाली महिला फुटबलको नियतीले निरन्तरता पायो ।
खेलको पहिलो हाफमा नेपालले पाएको मौकालाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोर्नु परेको हो । पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफमा फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहेको म्यानमारले दुई गोल गर्यो । नेपालले तीन मिनेटभित्र दुई गोख खाएको थियो । ६१ औँ र ६४ औँ मिनेटमा म्यानमारले गोल गरी उपाधि जितेको हो । लिग चरणमा दुई दुईको बराबरीमा रोकेको नेपाल उपाधि भिडन्तमा हार टार्न नसकेपछि उपविजेतामा सीमित भएको छ ।