जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पुर्वडीआईजी जोशीलाई थुनामा पठाउन रूपन्देही जिल्ला अदालतको आदेश

जन्मभुमि खबर ,
पोखरा ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ ।

आज सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई थुनामा पठाउने आदेश दिएको रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

यसअघि उनी काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा ५० लाख र पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा ८८ लाख धरौटीमा रिहा भएका थिए ।

बुटवलमा पनि सुप्रिम सहकारी ठगीको अभियोग दर्ता भएपछि आफैँ अदालतमा उपस्थित भएका जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । उनीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ ।

यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने भने एक करोड धरौटी बुझाएर रिहा भएका थिए ।

सुप्रिम सहकारी ठगीमा २२ जनाविरुद्ध पूरकअभियोग दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर पूरकअभियोग दर्ता भए पनि लामिछाने र जोशी मात्रै अदालतमा उपस्थित भएका हुन् ।

पूरकअभियोगमा ५५ करोड रुपैयाँ बिगो कायम गरिएको छ । यसअघि गत वैशाखमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।

उनीहरूमध्ये १७ जनाविरुद्ध थप अभियोगसमेत दर्ता गरिएको छ । पूरकअभियोग र थप अभियोगसहित यो मुद्दामा जम्मा प्रतिवादी ४२ जना भएका छन् । पहिलो चरणको मुद्दामा ८६ करोड रुपैयाँ बिगो कायम गरिएको थियो। प्रतिवादी थप भएसँगै बिगो पनि झण्डै डेढ अर्ब पुगेको हो ।