जन्मभुमि खबर ,
पोखरा ।
गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो ।
एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरुको वैवाहिक सम्बन्ध १० महिना पनि टिक्न सकेन
गायिका चौहानले औचारिक रूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको बताएकी छन् । कानुनी रूपमा आफू अलग भएको उनले जानकारी दिएकी छन् ।
पूर्वपति विष्णु सापकोटालाई सम्बोधन गर्दै उनले बाँकी जीवनका लागि शुभकामना दिएकी छन् ।
“प्रिय विष्णु, अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्,” एलिना सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ । तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ ।”
उनले भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेको बताएकी छन् । तर, त्यसकै अभावमा आफूहरू अलग भएको उनको भनाइ छ ।
“…जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ । यो रहरले होईन, जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ । आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ,” एलिना अगाडि लेख्छिन्, “पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु । तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु ।”
एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पतिले विभिन्न शंका–उपशंका गरेको खुलाएकी थिइन् । यस्तै विवाहपछि आफू अस्ट्रेलियामै पतिसँग गएर बसेको तर यस क्रममा सुरुका केही दिन राम्रै भए पनि पछि सम्बन्धमा खटपट आएपछि आफू नेपाल आएर बस्न थालेको उनले जनाएकी थिइन् ।
पतिसँग भावनात्मक सम्बन्ध राम्रो हुन नसकेकाले कागजी सम्बन्धमा मात्र पति–पत्नी भएर बस्न उचित नरहेकाले सम्बन्धविच्छेदका लागि निवेदन दिएको उनको भनाइ थियो ।