आहा रारा पोखरा गोल्ड कप : उज्वेकिस्तानको ब्ल्याक बुल्स सेमिफाइनलमा प्रवेश
जन्मभुमि खबर ,
पोखरा ।
पोखरा रंगशालामा जारी २४ औ आहा रारा पोखरा गोल्ड कपमा आज भएको अन्तिम क्वाटफाइनल खेलमा सिक्किमको थन्डरबोल्टस् नर्थ युनाइटेडलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी आहा-रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रागंशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा युनाइटेडलाई ३-० को फराकिलो अन्तरले हराउँदै ब्ल्याक बुल्स अन्तिम चारमा पुगेको हो। ब्ल्याक बुल्सले सेमिफाइनलमा स्थान बनाएसँगै आहा-राराको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड र थ्रीस्टारले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
खेलको पहिलो हाफमा एक गोल गरेको ब्ल्याक बुल्सले दोस्रो हाफमा २ गोल थप्यो। पहिलो हाफको ३६ औँ मिनेटमा इस्लोमजोन अब्दुकोडिरोभको गोलमा ब्ल्याक बुल्सले सुरुवाती अग्रता बनाएको थियो। सभ्कात्जोन सत्तोरोभको पासमा उनले युनाइटेडका गोलरक्षक र डिफेन्डरको बीचबाट सेकेन्ड बारबाट उत्कृष्ट गोल गरे ।
खेलको ७३ औँ मिनेटमा साभ्कातजोनको क्रसमा साइडजामोलले गोल गर्दै ब्ल्याक बुल्सको अग्रता दोब्बर पारे। खेलको ७५ औँ मिनेटमा साभ्कातजोन सत्तोरोभको गोलमा ब्ल्याक बुल्सले ३–० को आरामदायी अग्रता बनायो ।
ब्ल्याक बुल्सले अब फाइनल प्रवेशका लागि ५ पटकको च्याम्पियन थ्रीस्टार क्लबसँग दोस्रो सेमिफाइनल खेल्नेछ । पहिलो सेमिफाइनलमा भोलि बुधबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन् । सो खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।