जन्मभुमि खबर ,
पोखरा ।
गएराति स्याङ्जा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा पर्वतको कुश्मा नगरपालिका- १४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
गएराति करिब ११ बजे आँधिखोला गाउँपालिका-५ कृषिस्थित कृषि-ओहिया भित्री कच्ची सडक खण्डमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गएराति नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
दुर्घटनामा शारदा नगरपालिका-७ सल्यानका १५ वर्षीय हरि परियार, आँधीखोला गाउँपालिका- २ ओहियाका ३३ वर्षीय कमल नेपाली, राप्ती नगरपालिका -६ चितवनका ४१ वर्षीय प्रकाश विक र सुमित्रा विक गम्भीर घाइते भएका स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
घाइते सबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।