जन्मभुमि खबर ,
पोखरा ।
सहकारी ठगीका आरोपित जीबी भन्ने गितेन्द्रबाबु राईको राहदानी रोक्का गर्न अदालतले आदेश दिएको छ।
सरकारले जिल्ला अदालत कास्कीमा दायर गरेको निवेदनमा शुक्रबार सुनुवाई गर्दै न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रोक्का गर्न आदेश दिएको हो।
अदालतले राहदानी विभागलाई जीबीको राहदानी रोक्का गर्न लेखि पठाउने आदेश दिएको छ। ५ वटा सहकारी ठगीका मुख्य अभियुक्त जीबी विदेश भागेपछि उनलाई नेपाल फिर्ता ल्याउन सरकारले लामो समयदेखि प्रयास गरे पनि सकेको छैन।
यसअघि नै प्रहरीले राहदानी रोक्का गर्नका लागि अदालतमा अनुमति माग गरेको थियो। तर अदालतले अनुमति दिएको थिएन। अदालतको अनुमति बिनै प्रहरीले राहदानी विभागमा रोक्का राखिदिन पत्राचार गरेको थियो।
तर राहदानी विभागले पनि राईको राहदानी रोक्का गर्न अस्वीकार गरेको थियो।
त्यसपछि सरकारका तर्फबाट जिल्ला अदालत कास्कीमा दायर निवेदनमा सुनुवाई गर्दै न्यायाधीश बेल्बासेको इजलासले यस्तो आदेश जारी गरेको अदालतका स्रेस्तेदार राजन खनालले बताए ।
उनको राहदानी रद्द गर्न माग गर्दै पुस २८ गते अदालतमा निवेदन दर्ता भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत् जिबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो ।