जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पारिवारिक रिसइबीका कारण कास्कीमा पेट्रोल छर्किएर आगो लगाई ज्यान लिने प्रयास, आरोपी पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

कास्की प्रहरीले शरीरमा पेट्रोल छर्केर आगो लगाई ज्यान लिन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं‍१२ स्थायी घर भइ जिल्ला कास्की पोखरा, १३ काँहुखोला बस्ने वर्ष ३१ को उमेश राइ रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

निजले कास्कीको मादी गाउँपालिका ठूलास्वारा बस्ने ४८ वर्षीय दुर्गाबहादुर गुरुङलाई मंसिर २७ गते राति ११ बजेतिर उनकै घरको बाहिर ल्याइ पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेको प्रहरीको भनाइ छ ।

घाइतेलाई उपचारको राति २ बजेतिरै पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा थप उपचारको लागि पुनः मणिपाल रिफर भएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि बिहान ९ बजे कीर्तिपुर बर्न अस्पताल रिफर भएको पनि प्रहरीको भनाइ छ। उनको उपचार भइरहेको छ ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार सो व्यक्ति गाडी चालक भएको र व्यक्तिगत एवं पारिवारिक रिसइबीका कारण सो हर्कत गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

उनका अनुसार अभियुक्त राईलाई मादी गाउँपालिका वडा नं‍ ५ सुनपदेँली स्थित पुरानो स्कुलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको डीएसपी शर्माले जानकारी दिए ।

प्रहरीले कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको पनि उनले बताए ।